मनिषापछि भन्सालीसँग सहकार्य गर्दै निकिता

काठमाडौं । पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले अभिनय यात्रा ‘साङ्लो’ चलचित्रबाट सुरू गरेकी थिइन् । हालसम्म दुई चलचित्रमा अभिनय गरेकी उनले यस वर्ष प्रदर्शनमा आएको ‘रावायण’मा विशेष भूमिका निभाएकी थिइन्, जहाँ उनले एक गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
यस वर्ष निकिताका लागि महत्वपूर्ण सावित भएको छ । हालै मात्र बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘राजागंज’मा उनको अभिनयलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको छ । त्यसैगरी, उनी अब प्रसिद्ध भारतीय निर्देशक संजय लीला भन्सालीको प्रोजेक्टमा संलग्न हुँदै बलिउडमा प्रवेश गर्न लागेकी छन् ।
निकिताले मंगलबार सामाजिक सञ्जालमार्फत भन्सालीसँगको तस्बिर सेयर गर्दै भारतीय चलचित्रमा आफ्नो डेब्युको खबर सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्, “सञ्जय लीला भन्साली सरको दुनियाँको एउटा सानो हिस्सा बन्न पाउँदा अत्यन्तै खुसी छु । भारतमा मेरो पहिलो प्रोजेक्ट योभन्दा उत्कृष्ट हुन सक्दैन ।”
हाल भन्साली अभिनेताद्वय रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्टलाई लिएर ‘लभ एन्ड वार’ निर्देशन गरिरहेका छन् । सन् २०२६ को मार्च २० मा प्रदर्शन हुने तयारीमा रहेको यस सिनेमामा निकिता देखिने सम्भावना प्रबल छ । यद्यपि, उनले आफ्नो भूमिका वा चलचित्रबारे विस्तृत खुलासा गरेकी छैनन् ।
निकिता भन्सालीको सिनेमामा काम गर्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छिन् । यसअघि, अभिनेत्री मनिषा कोइरालाले ‘खामोशी’ लगायतका सुपरहिट सिनेमामा भन्सालीसँग सहकार्य गरेकी थिइन् । ‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता ऐतिहासिक सिनेमाहरू बनाएका भन्साली बलिउडका प्रतिष्ठित निर्देशक मानिन्छन् ।
बलिउडमा आफ्नो पहिचान बनाउन चाहने कलाकारका लागि भन्सालीको प्रोजेक्टमा काम गर्नु ठुलो अवसर मानिन्छ । अब, निकिता बलिउडमा आफूलाई कत्तिको स्थापित गर्न सफल हुन्छिन्, त्यो भने हेर्न बाँकी छ । के उनी नेपालका लागि अर्को बलिउड स्टार बन्न सक्छिन्? यसको उत्तर समयले नै दिनेछ ।