किन बन्द ‘सक्किगोनि’को तेस्रो सिजन ?

काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को तेस्रो सिजन औपचारिक रूपमा बन्द भएको छ । झण्डै ९३ भाग प्रसारण भइसकेपछि टिमले नयाँ सिर्जनात्मक योजनाका साथ विश्राम लिने निर्णय गरेको हो ।
निर्माणपक्षका अनुसार तेस्रो सिजनबाट धेरै कुरा सिक्ने अवसर मिलेको र अब चौथो सिजनलाई अझ परिस्कृत बनाउनका लागि समय आवश्यक रहेको बताइएको छ ।
यो टेलिसिरियलका मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “तेस्रो सिजनबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउनेछौँ ।”
उनले चौथो सिजनका लागि दर्शकहरूसँग सुझाव पनि माग गरेका छन् । “रचनात्मक एवं सिर्जनात्मक सुझावको हामीले अपेक्षा गरेका छौँ,” उनले लेखेका छन् ।
‘सक्किगोनि’ नेपाली हास्य टेलिचलचित्रको दुनियाँमा एक लोकप्रिय नाम हो । ग्रामीण परिवेशका कथाहरूलाई हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गर्दै आएको यस टेलिसिरियलले दर्शकमाझ अत्यधिक लोकप्रियता कमाएको छ ।
टिमले तेस्रो सिजनलाई विश्राम दिए पनि चौथो सिजन छिट्टै आउने आश्वासन दिएको छ ।