चलचित्र ‘भूठान’द्वारा फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान क्याम्पेनको आयोजना

काठमाडौं । हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’ले फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान क्याम्पेनको आयोजना गर्ने भएको छ ।
आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्रको निर्माण टिमले हरेक शुक्रवार काठमाडौँका चल्तीका चिया पसल र रेष्टुँराहरुमा फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको हो ।
निर्माण टिमका अनुसार पहिलो कार्यक्रम चैत्र ८ गते साँझ ५ः३० मा थापाथलीस्थित चियावालामा हुने छ । यो कार्यक्रममा चिया पसलमा आएका जो कसैले आफ्नो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्ने बताएको छ ।
हरेक हप्ता एक जना सोलिब्रेटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रूपमा निमन्त्रणा गरिने ‘भूठान’ टिमले जानकारी गराएको छ ।
यो हप्ता कवि एवं सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथिको रूपमा अन्तिममा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै यस चलचित्रको टिकट पनि जित्न सक्ने बताएको छ ।
चलचित्रका निर्माता अविरल थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय खुसी दिवसको रूपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुसीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।
थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु र सिनेमाको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको बताए ।
चलचित्र भूठान विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, रिचा घिमिरे, अदिती प्याकुरेल, जो यश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।
