‘वसन्त’लाई विशेष बनाउन प्रकाश सपूतले घोषणा गरे ‘वसन्त-साँझ’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशकीय चलचित्र ‘वसन्त’को निर्माण टिमले ‘वसन्त-साँझ’को आयोजना गर्ने भएको छ ।
आगामी चैत्र २२ गते रिलिज हुन लागेको सिनेमाको शनिबार ट्रेलर सार्वजनिक गर्ने भएसँगै काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’ कार्यक्रमको आयोजना गर्ने भएको हो ।
चलचित्रका निर्देशक तथा अभिनेता सपूतले सिनेमाको प्रमोशनलाई विशेष बनाउने उद्देश्यसहित ‘वसन्त-साँझ’ आयोजना गर्न लागिएको बताएका छन् ।
चैत्र ९ गते साँझ ४ बजे हुने कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपूत, गायिका शान्तिश्री परियार, प्रीति आले र देवेन्द्र बब्लु (द फिरन्ते) ले विशेष प्रस्तुति दिनेछन् ।
सामाजिक विषयवस्तु (सोसल ड्रामा) मा आधारित ‘वसन्त’ मा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सिनेमामा कथा, पटकथा र संगीत समेत निर्देशक सपुतले नै तयार पारेका छन् । सिनेमा एक विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र त्यसका लागि गरेको संघर्षको कथामा केन्द्रित छ ।
सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन् । सिनेमाको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा गरिएको हो । छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
