६ वर्षपछि अभिनयमा फर्किने भए निखिल उप्रेती, ‘आचार्य’ बनाउने

काठमाडौं । ‘एक्सन स्टार’को रुपमा परिचित अभिनेता निखिल उप्रेतीले आफ्नो निर्माण तथा निर्देशनमा चलचित्र ‘आचार्य’ बनाउने भएका छन् ।

जसकालागि अभिनेता उप्रेतीले गत फागुनमा चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिएका छन् । कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेर निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा यो सिनेमा दर्ता गरेका हुन् ।

‘आचार्य’ को नाममा नयाँ चलचित्र निर्माणको इजाजत पत्र लिए पनि पहिले नै ‘आचार्य’ शीर्षकको सिनेमा बनिसकेको छ । यसअघि ‘आचार्य’ शीर्षकमा भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारितको बायोपिक बनेको थियो । तर, निखिलको ‘आचार्य’ भने पूर्ण रूपमा फरक कथामा आधारित रहने बताइएको छ ।

करिब छ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका निखिलको निर्देशनमा बन्न लागेको दोस्रो सिनेमा हो । उनले यसअघि इस्वी सम्वत् २०१५ मा प्रदर्शन भएको चलचित्र ‘भैरव’ निर्देशन गरेका थिए भने पछिल्लो पटक ‘भिलेन’मा अभिनय गरेका थिए ।

यो चलचित्रको छायांकन आगामी जेठबाट सुरु हुने बुझिएको छ । ‘आचार्य’ सुपरहिरो पात्रमा आधारित रहनेछ । तर, निखिलले यो चलचित्रलाई पश्चिमी सुपरहिरो जस्तो नभई नेपाली परिवेशसँग जोड्न चाहेको बताएका छन् ।

‘आचार्य’ मा निखिलसँगै उनकी श्रीमती सञ्चिता लुइँटेल मुख्य भूमिकामा देखिने छन् । यी दुईले विवाहअघि ‘विजयपथ’, ‘दाग’, ‘सम्झना’ र ‘माया त माया हो’ जस्ता सिनेमामा एकसाथ अभिनय गरेका थिए । १० वर्षपछि उनीहरू पर्दामा जोडी बाँध्दैछन्, जसले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।

निर्माण इजाजत लिँदा ‘आचार्य’को मुख्य भूमिकामा निखिल र सञ्चिताको नाम देखिएपनि यसको औपचारी घोषणा भने गरिएको छैन ।