हलहरूमा सात वटा नेपाली चलचित्र, व्यापार र वर्ड अफ माउथमा ‘अञ्जिला’ बलियो

पवन भट्टराई

काठमाडौं । हलाको अवस्थामा भन्ने हो भने नेपाली चलचित्रले हलहरूलाई चलायमान बनिरहेको देखिन्छ । कात्तिक महिनायता दर्जनौँ चलचित्रहरु प्रदर्शनमा आएपनि निराशाजनक व्यापारसँग जुध्दै आएको थियो ।

तीन महिनासम्म निराशाजनक व्यापार सामना गरेपछि, नेपाली चलचित्रहरूले फेरी हलमा दर्शक फर्काउन थालेका छन् । यसबीच दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, प्रियंका कार्की जस्ता चर्चित कलाकारको सिनेमासमेत बक्स अफिसमा असफल भएपछि तीन महिना नेपाली चलचित्र क्षेत्रले ठूलो संकट बेहोरेको थियो । तर अहिले, नेपाली चलचित्रहरूले हलहरूमा रौनक ल्याउन थालेका छन् ।

अहिले देशभर ७ वटा नेपाली चलचित्र प्रदर्शनमा छन्, जसमा ५ अघिल्लो साता रिलिज भएका र २ नयाँ चलचित्र आजबाट प्रदर्शनमा आएका छन् । नेपाली सिनेमाले गुणस्तर सुधार्दै जाने हो भने बक्स अफिसमा अझ राम्रो उपस्थिति देखाउन सक्ने विश्लेषकहरू बताउँछन् ।

फागुन १५ गतेबाट प्रदर्शनमा आएको ‘लाज शरणम्’, फागुन २३ मा रिलिज भएको ‘होस्टेल ३’, फागुन २९ गतेदेखि प्रदर्शनमा आएका ‘अञ्जिला’ र ‘आउट ल: दफा २१९’, साथै चैत १ गतेबाट चलेको ‘राजागञ्ज’ अहिले पनि हलहरूमा प्रदर्शन भइरहेका छन् ।

महाशिवरात्रि मा आएका तीन सिनेमामध्ये ‘लाज शरणम्’ ले सन्तोषजनक व्यापार गरिरहेको छ । यो चलचित्रले हालसम्म करिब ४ करोड कमाइ गरिसकेको छ ।

त्यस्तै, फागुन २३ मा प्रदर्शनमा आएको ‘होस्टेल ३’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यसपछि ‘अञ्जिला’, ‘आउट ल : दफा २१९’ र शुक्रबार (चैत १ गते) ‘राजागंज’ प्रदर्शनमा आएका थिए । विश्वका थुप्रै फेस्टिभल चहारेको ‘राजागंज’को व्यापारिक अवस्था भने दयनीय छ भने यसको दुई दिनअघि प्रदर्शन भएको ‘अञ्जिला’ बलियो देखिएको छ ।

आजबाट थपिएका २ नयाँ चलचित्रहरू क्राइम थ्रिलर जनरामा निर्माण भएको ‘११:५५’ र कर्णालीको कथा प्रस्तुत गरेको ‘द्रौपदी’ हुन् । यी दुवै सिनेमा फरक जनराका छन् ।

हाल देशभर प्रदर्शनमा रहेका ७ चलचित्रमध्ये ‘अञ्जिला’ ले सबैभन्दा धेरै शो पाउनुका साथै व्यापारिक रुपमा समेत बलियो देखिएको छ । अहिले ७ वटा चलचित्रमध्ये ‘वर्ड अफ माउथ’मा पनि ‘अञ्जिला’ कै बलियो छ ।

नेपालका हलहरूमा नेपाली चलचित्रले राम्रो उपस्थिति जनाइरहेकाले दर्शकको आकर्षण पनि बढ्दै गएको देखिन्छ । के आगामी नेपाली सिनेमाहरूले यो लय कायम राख्न सक्लान्? भन्ने प्रश्न लाई यथावत् राखेको छ ।