‘भाइरल गोर्खे’को टिजरमा लोकप्रिय हुने लालसामा गरिने अनेकौँ हर्कत

काठमाडौं । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, विशेष गरी टिकटक, मानिसहरूको जीवनशैलीको अभिन्न हिस्सा बन्दै गएको छ। लोकप्रिय हुने लालसामा मानिसहरू अनावश्यक र कहिलेकाहीँ हानिकारक हर्कत समेत गर्न पछि पर्दैनन् । यस्तै भाइरल प्रवृत्ति र यसको सामाजिक प्रभावलाई मुख्य विषयवस्तु बनाएर तयार भएको चलचित्र ‘भाइरल गोर्खे’ को टिजर सार्वजनिक भएको छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको शुक्रबार सार्वजनिक भएको टिजरले सामाजिक सञ्जालको प्रभाव, भाइरल प्रवृत्ति र यसको मनोवैज्ञानिक असरलाई दर्शाउन खोजेको छ ।
निगम श्रेष्ठको निर्देशनमा बनेको चलचित्रको टिजरले सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले गर्ने प्रयास, यसको मनोवैज्ञानिक असर, तथा समाजमा पार्ने प्रभावलाई चित्रण गर्ने प्रयास गरेको छ ।
आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाइरल गोर्खे’ मा सौगात मल्लले गोपल पाँडे नामक एक युवकको भूमिका निभाएका छन्, जो टिकटकमा भाइरल हुनकै लागि अनेकौँ हर्कत गर्छन् ।
टिकटकमा भाइरल हुने नाममा आफ्नो वास्तविकता भुल्न थालेको, अनावश्यक क्रियाकलाप गरिरहेको र यसले व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्न थालेको टिजरबाट बुझ्न सकिन्छ ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल मुख्य भूमिकामा रहेका छन् । सिनेमामा पत्रकार ऋषि धमलाले पनि अभिनय गरेका छन् ।
चलचित्र ‘भाईरल गोर्खे’का निर्माता विशाल ताम्राकार, महेश लामिछाने, केवल जंग कुँवर हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह-निर्माताको भूमिकामा रहेका छन् ।
अमर महर्जनको छायांकन रहेको ‘भाईरल गोर्खे’ लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो ।