तत्काल आन्दोलनको राँको सल्काऊ, टुंगोमा नपुर्‍याई नफर्क

गत हप्ता केही चलचित्र निर्देशक एकै ठाउँमा भेला भएर सरकारलाई भने– हामी सेन्सरविरुद्ध विरोधको स्वर लिएर आउँदैछौँ, छलफल गर्न तयार भएर बस्नू ।

काठमाडौंको मण्डला थिएटरमा नवीन सुब्बा, अशोक शर्मा, विनोद पौडेल, दीपकराज गिरी, दीपक रौनियार, उपेन्द्र सुब्बा, गणेशदेव पाण्डे, दीपेन्द्र लामा, मनोज पण्डितलगायत एकै ठाउँमा भेला भएर सेन्सरका नाममा केन्द्रीय चलचित्र जाँचपास समितिले चलचित्रकर्मीलाई दुःख दिएको आरोप लगाए । चलचित्रमार्फत नेपाली राजनीतिको कालो कर्तुतको भण्डाफोर हुन्छ भनेर अत्तालिएर राज्यले चलचित्रको स्वतन्त्रामाथि बन्देज लगाउन खोजेको बताए ।

यसविरुद्ध सम्पूर्ण चलचित्रकर्मी एक हुने र माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए । शान्तिपूर्ण आन्दोलनलाई नसुने कडा आन्दोलन गर्ने पनि बताएका थिए ।

एक हप्ता भयो चलचित्रकर्मीले आन्दोलन छेड्ने चेतावनी दिएको । तर, खोई के गर्दैछन् अहिले आन्दोलनको राँको सल्काउने चेतावनी दिएका चलचित्रकर्मी, के गर्दैछन् माग पूरा नभएसम्म नफर्किने प्रतिबद्धता जनाएका चलचित्रकर्मी ?

विभिन्न बाहानामा सामान्यभन्दा पनि सामान्य शब्द र सिन काट्न थालेपछि सिनेमामा कालो पोतेर ल्याउने चेतावनी दिएका चलचित्रकर्मी आन्दोलनको भित्रभित्रै तयारी गर्दैछन् अथवा तातो रिस मरिसक्यो र सेलाइक्यो राज्यलाई गलाउने जोस ।

राज्यको विशेषता नै अरुको मुख बन्द गर्ने हो । शक्ति र शासकको नेचर नै अरुलाई कमजोर बनाएर आफ्नो शासनको आयु लम्ब्याउने हो ।

त्यसैले राज्यले विस्तारै चलचित्रकर्मी मुख अथवा स्वतन्त्रतामाथि धावा बोलिरहेको छ । विभिन्न कारण देखाएर अभिव्यक्ति स्वतन्त्रतामाथि कैंची चलाइरहेको छ । त्यसैले यसविरुद्ध धावा बोल्न त्यति सहज छैन । एकछिनको जोसले पुग्दैन । यसका लागि पर्याप्त तयारी गरेर लड्नुपर्छ, लामो समय दिनसक्नु पर्छ ।

के कारणले सेन्सर खुकुलो हुनुपर्छ भन्ने तर्कमा पर्याप्त होमवर्क गर्नुपर्छ । यसमा चलचित्रकर्मीले हेक्का राख्नुपर्छ । होइन भने आँखा चिम्म गरेर र कान थुनेर बस्ने सरकारले सजिलै गलाइदिन्छ । टिमलाई फुटाइदिनसक्छ । आफू झन बलियो बनेर राज गर्ने रणनीतिमा सफल हुनसक्छ ।

त्यसैले चलचित्रकर्मीलाई सेन्सरविरुद्धको आन्दोलन सफल बनाउन सहज छैन । पर्याप्त तयारी चाहिन्छ । लगाव र मेहनत चाहिन्छ । यसमा सुरुमै पर्याप्त होमर्वक नगरे पुनः सेन्सरविरुद्धको आन्दोलन विचमै तुहिनेछ ।

सबै एकजुट हुने प्रतिबद्धता आएका बेला तत्काल आन्दोलन सुरु नगरे र निष्कर्षमा नपुर्‍याए, फेरि पनि सेन्सरविरुद्धको आन्दोलन ‘भ्यागुताको धार्नी’ सरह हुनेछ ।