विश्वास गर्नै नसकिने कमजोर ‘११ : ५५’

न श्रीमानसँग श्रीमतीको विश्वास छ, न श्रीमतीप्रति श्रीमानको भरोसा छ । न ज्याइँप्रति ससुराको भरोसा छ, न त ससुराप्रति ज्वाइँको भरोसा छ । न स्टाफप्रति हाकिमको भरोसा छ, न त हाकिमसँग स्टाफको भरोसा छ ।
छ त केवल अविश्वास र शंका तथा एकले अर्कोलाई सक्काउने खेल । आक्रमण र हत्या । जसरी हुन्छ सम्पत्ति आफ्नो बनाउने रणनीति । ११ : ५५ यसैलाई मुख्य विषय बनाएर बनेको चलचित्र हो ।
नाम सँगै जोडिएर आएको स्लोगन ‘डु नट ट्रस्ट एनी वन’ले पनि यही नै संकेत गर्छ । हो, अहिलेको समाज नै यस्तै छ । धोकाधडी र आक्रमण अहिलेको समाजको विशेषता हो । जसरी हुन्छ पैसा कमाउ र रमाउन अहिलेको पुस्ताको एकमात्र उद्देश्य हो । नाता, सम्बन्ध, समाज, संस्कारलाई चटक्कै भुलेर पश्चिमा कल्चरमा समाज सिफ्ट भइसकेको छ । भौतिक सुखलाई एक मात्रै गन्तब्य बनाउँदा समाज एकलकाँटे र भ्रष्ट भइसकेको छ । जसको परिमाण घरमै सदस्यलाई ढुक्कसँग विश्वास गरेर बस्नसक्ने अवस्था छैन ।
समाजको यही जल्दोबल्दो विषयलाई यो चलचित्रले आफ्नो विषय बनाएको छ । विषय छनोटमा लेखक तथा निर्देशक केशव पाण्डे चलाख देखिएका छन् ।
समाजलाई भित्रभित्रे खोक्रो बनाइसकेको विषयलाई चलचित्रमार्फत देखाएका छन् । चलचित्र समाजको ऐना हो भनेर मान्ने हो भने समाजको यथार्थ आउनु सकारात्मक हो । यसका लागि निर्देशक धन्यावादका पात्र हुन् । धन्यवाद !
लागौँ अभिनयतिर, विषय छनोटका हिसाबले चलाख देखिएका निर्देशक तथा चलचित्र लेखक केशव कथाअनुसार कलाकार चयनमा भने कमजोर देखिएका छन् । यहीँबाट सुरु हुन्छ ‘११ : ५५’ कमजोर हुन ।
श्रृष्टि श्रेष्ठ यो चलचित्रमा अभिनयका हिसाबले औसत छिन् । उनको अभिनयले होल्ड गर्न सक्दैन । चरित्रअनुसार न उनको अभिनय छ न त डाइलगको डेलिभरी । प्रेमिल संवाद होस् वा थ्रिलर चलचित्रभरी उनको संवादको शैली उस्तै लाग्छ । श्रृष्टि यो चलचित्रमा मिसकास्ट हुन् ।
‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिलि’मार्फत् अथाह प्रेम बटुलेका महेश त्रिपाठी खुम्चिएका छन् । उनलाई वाह भन्ने ठाउँ छैन । पात्रको प्रोग्रेस भएन भने कसरी अभिनेता खुम्चिन्छन् भन्ने उदाहरण हुन्, महेश ।
एउटै ठाउँ, एकै खालका संवाद, उस्तै दृश्य, उही पात्र, उही समयले दिक्क बनाउँछ । निर्देशकले जति समय लिए पनि कथा अगाडि नबढ्दा दिक्क हुन्छ ।
चलचित्रको राम्रो पक्ष भनेको एउटै घरभित्र सिनेमा निर्देशकले सकेका छन् । जसरी ‘मिसेज’ एउटै घरमा त्यसमा पनि किचनमा सकिन्छ यो पनि त्यस्तै एउटै घरमा सकिन्छ ।
हाम्रोजस्तो सानो बजेटमा चलचित्र बनाउनुपर्ने बाध्यता रहेको देशमा एउटै घरमा यसरी चलचित्र बनाउन सकिन्छ है भनेर निर्देशकले सन्देश दिएका छन् ।
चलचित्रको बिजीएसम अर्को समस्या हो । साउन्ड अथवा पात्रका संवाद नै छोप्ने गरी प्रयोग गरिएको बिजीएमले कान टटउँछ । यसमा निर्देशक निकै फितलो देखिएका छन् । कानले धान्नै नसक्ने बिजीएम राख्नु अर्को मसस्या हो ।
एकै खालका दृश्य दोहोरिरहन्छन् । खिचाइ र सम्पादन कमजोर देखिँदा पर्दामा आउने एकै खालका दृश्यले हैरान बनाउँछ । सम्पादनमा चलचित्र निकै कमजोर छ । सांगीतिक पक्षमा चलचित्र कमजोर छ ।
टुइस्टका नाममा निर्देशक पर्दामा जे पनि देखाउँछन् । एक छिनमा एउटा, एकै छिनमा अर्कै । विश्वास हुनेगरी देखाउँदा त प्रहरी अनुसन्धानमा छिनछिनमा शंकको सुई फरक फरक व्यक्तितर्फ सोझिन्छ, ठिक हो । तर, पत्याउने खालको त हुनुपर्छ । स्टोरीमै चलचित्र कमजोर छ । यसकै परिणाम हो यो ।
जे देखाइदिँदा पनि हुन्छ भन्ने भ्रममा निर्देशक पर्दामा देखिन्छन् । निर्देशकले सोचेजस्तै दर्शकले जे पनि हेर्दिन्छन् कि हेरिदिन्दैनन् भन्ने कुरा सबैभन्दा महत्वको हो । दर्शक स्मार्ट भइसके भनेर आफैँ भन्दै हिँड्ने चलचित्रकर्मी चलिचत्र बनाउँदा भने जे पनि गर्न तयार देखिन्छन् ।
‘११ : ५५’ यसको उदाहरण हो । ट्यागलाइनले ‘डु नट ट्रस्ट एनी वन’ भनेजस्तै दर्शकले ‘११ : ५५’ लाई विश्वास नगर्ने सम्भावना उच्च छ ।
जे पनि दर्शकले विश्वास गर्दैनन् भन्ने सोचेर चलचित्र बनाएको भए सायद दर्शकले अविश्वास होइन, विश्वास गर्ने सम्भावना हुन्थ्यो । समग्रमा विषय गज्जव तर चलचित्र फितलो । चलचित्र ‘११ : ५५’ हेरे राम्रो नहेरे झनै राम्रो भन्न सकिने चलचित्र हो ।