‘वसन्त’को ट्रेलरमा छुवाछुतका कारण उत्पन्न जातीय समस्या

काठमाडौं । चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलरमा नेपाली समाजमा व्याप्त छुवाछुतका कारण उत्पन्न जातीय समस्या देखाइएको छ ।
जातीय भेदभावका कारण एक प्रेम जोडीले भोग्नु परेको समस्या ट्रेलरमा देख्न सकिन्छ । भेदभाव सहन नसकेपछि त्यसको अन्त्यका लागि क्रान्तिमा हिँडेको कथा ट्रेलरमा छ ।
चैत २२ गते प्रदर्शन हुने चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपूतले लेखेका छन् ।
निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।