ईनास अमेरिका शाखाद्वारा ‘ईनास राष्ट्रिय सम्मान २०२५’को आयोजना

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र तथा समाजको विकासमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ ।
मेरिल्याण्डको हार्फोर्ड काउन्टीस्थित रमादा विन्डहम (१७०० भाम विबर रोड, इजउड) मा आगामी २१ जुलाईमा आयोजित समारोहमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ प्रदान गरिनेछ । कार्यक्रममा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ ।
ईनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीका अनुसार अमेरिकामा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिनेछ भने नवप्रतिभाहरूलाई प्रोत्साहनस्वरूप राष्ट्रिय सम्मान दिइनेछ । कार्यक्रममा अमेरिका तथा विश्वभर छरिएका नेपाली कलाकार, साहित्यकार, खेलाडी, मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
ईनासले नेपाली पर्व तथा अवसरहरू जस्तै दशैं, तिहार, तीज, फागु पूर्णिमा, नयाँ वर्षका अवसरमा फिल्म फेस्टिभल, स्रष्टा सम्मान, अवार्ड तथा बाल प्रतिभा कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमहरू नेपाली स्रष्टाहरूबीच एकता कायम गर्दै नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिन्छ ।
ईनासको इतिहास २६ अगस्ट, २०१२ मा युरोपको पोल्याण्डबाट सुरु भएको थियो भने सन् २०१४ मा अमेरिकामा भर्जिनियाबाट यसको विस्तार भएको थियो । हाल मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायत विभिन्न राज्यहरूमा यसको शाखा स्थापना भइसकेका छन् ।
‘ईनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ संस्थाका पूर्वअध्यक्ष कन्हैयासिंह परियारको कार्यकालमा सन् २०२२ मा पहिलो पटक आयोजना गरिएको थियो । प्रत्येक दुई वर्षमा आयोजना गरिने यस विशेष सम्मान कार्यक्रममा यो दोस्रो संस्करण हुनेछ ।
कार्यक्रमलाई भव्य बनाउन ईनास मेरिल्याण्डले व्यवस्थापनको जिम्मेवारी लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका पर्यटन प्रवर्द्धक राजु पराजुलीले ‘ईनास राष्ट्रिय सम्मान २०२५’ मा सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
ईनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेका अनुसार अमेरिकास्थित नेपाली समुदायमा संस्कृति प्रवद्र्धनका लागि यो कार्यक्रम निकै महत्वपूर्ण रहनेछ । समारोहमा नेपालबाट समेत अतिथि कलाकारहरूलाई निमन्त्रणा गरिएको जानकारी उनले दिएका छन् ।