विवादको प्रसङ्ग आफैँ कोट्याउँदै सपूत भन्छन्- ‘प्रशंसा गर्न मलाई कसैले जित्न सक्दैन’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि आलोचनामा तानिए ।

सपूतले हालै ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’को पुस्तक लोकार्पण समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीको संघर्ष, आत्मविश्वास र युवाको सोच रहेको व्यक्तित्वको खुलेर प्रशंसा गरेका थिए ।

उनले ओलीलाई दृढ निश्चय भएका नेता भन्दै उनका अडान र निर्णय क्षमताको प्रशंसा गरेका थिए । सपूतको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को बहस चलेको छ ।

प्रधानमन्त्री ओलीको उक्त प्रशंसा गरेको विषयलाई लिएर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सपूतको आलोचना गरे । उनका सोही भनाइहरू सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका थिए ।

कतिपय प्रयोगकर्ताले उनलाई ‘राजनीतिक झुकाव देखाएको’ आरोप लगाएका थिए भने केहीले यो स्वतन्त्र अभिव्यक्तिको रूपमा समर्थन पनि गरेका थिए ।

सोही प्रशंसा गरेपछि केही आलोचकहरूले उनको चैत २२ गते प्रदर्शन हुने चलचित्र ‘बसन्त’ बहिष्कार गर्न आह्वान गरे ।

तर, कलाकारलाई आफ्नो विचार राख्ने स्वतन्त्रता रहेको भन्दै सपूतले आफ्नो बचाउ गरेका छन् । कुनै कलाकारले विचार व्यक्त गर्दा त्यसको प्रभाव उसको पेशागत यात्रामा पार्नु उचित नरहेको उनले तर्क गरेका छन् ।

शनिबार सामाखुसीमा आयोजित ‘बसन्त’ को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रकाश सपूतले आलोचनाबारे आफ्नो धारणा राख्दै भने, ‘मलाई प्रशंसा गर्न कसैले जित्न सक्दैन ।’

उनले आफ्नो भनाइलाई गल्ती स्वीकार नगर्ने स्पष्ट पार्दै माहोलअनुसार विचार राखिएको तर्क गरेका छन् । ‘प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है ?’ भन्दै उनले व्यङ्ग्य पनि गरे ।

आफू कलाकार भएको नाताले सिर्जनामा समाजको चेतना र नेतृत्वलाई प्रश्न गर्ने अधिकार रहेको सपूतले बताए । ‘व्यक्तिलाई गाली गर्ने मेरो शैली होइन, म सिर्जनाका माध्यमबाट समाजका विषयमा प्रश्न उठाउँछु,’ उनले भने ।