म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु- मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा पुन: काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’ कार्यक्रममा उनले नेपाली चलचित्रमा अभिनय गर्न चाहेको खुलासा गरिन् ।

मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’ मार्फत नेपाली फिल्म उद्योगमा पाइला राखेकी थिइन् । त्यसपछि उनी बलिउडतर्फ प्रवेश गरिन् र त्यहाँ उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् । उनले नेपाली चलचित्र ‘धर्मा’ मा पनि अभिनय गरेकी थिइन् । बलिउड हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म अभिनयमा छाप छोड्न सफल कोइरालाले क्यान्सर रोगलाई जितेपछि आफ्नो जीवनशैली र सोचमा ठूलो परिवर्तन आएको बताइन् ।

कार्यक्रममा मनिषाले नेपाली चलचित्र क्षेत्रको विकासबारे आफ्ना विचार राख्दै भनिन्, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु । नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको स्तर वृद्धि भएको देखेर खुसी लागेको छ ।”

उनले आफ्नो करिअरको सुरुआती चरणमै नेपाली चलचित्रकर्मीलाई आफ्नै मौलिक कथा भन्न आग्रह गरेको स्मरण गरिन् । उनले विदेशी चलचित्रहरूको नक्कल नगरी मौलिकता प्रस्तुत गर्ने चलचित्रहरूले नै भविष्यमा नेपाली सिनेमालाई अघि बढाउने धारणा व्यक्त गरिन् । उनले व्यावसायिक र कलात्मक दुवै किसिमका नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउँदै गएकोमा सन्तोष व्यक्त गरिन् ।

“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । कलात्मक चलचित्रहरूले हामीलाई अन्तर्राष्ट्रिय महोत्सवमा उभ्याउन सफल भएका छन् भने व्यावसायिक चलचित्रहरूले नयाँ कीर्तिमान राखिरहेका छन् । यो सबै चलचित्रकर्मीका लागि उत्साहजनक कुरा हो,” उनले भनिन् ।

हालै अभिनेत्री कोइराला अभिनीत भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ ले ठूलो चर्चा बटुल्यो । सञ्जय लीला भन्सालीद्वारा निर्देशित सो शृङ्खलाले भारत र नेपालमा उल्लेखनीय लोकप्रियता हासिल गर्‍यो । भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि उनी पुन: सहकार्य गरेकी थिइन् ।

कोइरालाले निर्देशक भन्सालीले दिएको भूमिकाका लागि गहिरो मेहनत गरेको बताइन् । उर्दु भाषामा संवाद बोल्नुपर्ने भएकाले उनले भाषा विज्ञ राखेर अभ्यास गरेको स्मरण गरिन् । उनले भनिन्, “मैले आफ्नो पात्रलाई जीवन्त बनाउन हरसम्भव प्रयास गरेकी थिएँ । सायद यही कारणले मेरो भूमिकाले धेरै चर्चा पायो ।”

कार्यक्रमको अन्त्यतिर अभिनेत्री कोइरालाले आफ्नो आगामी योजनाबारे खुलासा गर्दै आफू राजनीतिमा प्रवेश गर्ने वा चलचित्र निर्माण गर्ने कुनै योजना नभएको बताइन् । हाल उनी एउटा पुस्तक लेखनमा संलग्न रहेको जानकारी दिइन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज साँझ समापन हुने आयोजकहरूले जनाएका छन् ।