‘जेरी अन टप’ को छायांकन सम्पन्न, ६ करोड लागत पुगेको दाबी

काठमाडौं। चलचित्र ‘जेरी अन टप’ को छायांकन सकिएको छ । अभिनेता अनमोल केसी, अभिनेत्री द्वय जसिता गुरूङ, आँचल शर्मा र हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को शीर्ष भूमिका रहेको सिनेमाको करिब ६० दिन लगाएर छायांकन सकिएको हो ।

हिमालपारिको जिल्ला मुस्ताङमा ६० दिन लगाएर चलचित्रको प्रमुख दृश्यहरूको छायांकन पूरा गरिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।

५० दिनको तालिका राखिएर छायाकंन सुरुवात गरिएको चलचित्रका दुई गीत भने अझै छायांकन हुन बाँकी छन् ।

सबै दृश्य खिचिएपनि तीमध्ये एक गीत भारतको दक्षिणपूर्वी तटीय सहर पोन्डीचेरीमा खिचिनेछ भने अर्को गीत काठमाडौंमा फिल्माइने निर्माता न्यौपानेले बताए । यसअघि भारतको लद्दाखमा छायांकन गर्न लागिएको एक गीत भने अन्ततः मुस्ताङमै छायांकन गरिएको छ ।

सुयोग गुरुङले निर्देशन गरेको यो सिनेमा अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रको कुल बजेट छायांकन सकिँदासम्म झण्डै ६ करोड रुपैयाँ पुगेको छ । जसमध्ये २ करोडजति रकम कलाकार, लेखक र प्राविधिकको पारिश्रमिकमा खर्च भएको निर्माताको भनाइ छ । आर्थिक पक्षका बारेमा उनले थप्दै भने, “विदेश वितरण अधिकारबाट नै लगानीको ठूलो हिस्सा उठ्नेछ ।”

‘जेरी अन टप’ को अन्तर्राष्ट्रिय वितरण अधिकार हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकका देशहरूको लागि न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरिएको छ । यसबाट चलचित्रको लगानीको आधा रकम सुरक्षित भइसकेको निर्माता न्यौपानेले बताएका छन् ।

यसअघि ‘सम्बोधन’, ‘ग्याङस्टर ब्लुज’ र ‘ब्रेकअप’ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता न्यौपानेले ‘जेरी अन टप’ लाई भावनात्मक कथासँगै दृश्यात्मक सौन्दर्य दिने हिसाबले निर्माण गरिएको बताए । “हामीले आँखालाई शीतलता दिने लोकेसनहरू रोज्यौं । सगरमाथा क्षेत्रको लुक्ला र मुस्ताङमा मुख्य छायांकन पूरा भएको छ,” उनले भने।

रोमाञ्चक रोड ट्रिपको कथामा आधारित ‘जेरी अन टप’ले अनमोल केसीलाई पुनः रोमान्टिक अवतारमा प्रस्तुत गर्ने बताइएको छ । चलचित्रको पोस्ट-प्रोडक्सन कार्य सुरु भइसकेको र चाँडै नै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ ।