शुक्रबार नेपाल आइपुग्दै एन्जिला, हलहलमा पुगेर दर्शक भेट्दै

काठमाडौं । चलचित्र ‘अञ्जिला’को प्रचारमा अब यो सिनेमाकी मुख्य पात्र एन्जिला तुम्बाप्पो सुब्बा आफै हिँड्ने भएकी छन् ।
यसका लागि उनी नेपाल आउँदै छिन् । स्रोतका अनुसार उनी यही शुक्रबार नेपाल आइपुग्नेछिन् । तर उनी लामो समय भने नेपालमा बस्ने छैनन् ।
म्याच चलिरहेकाले उनी मंगलबार नै ग्रिस फर्किनेछिन् । करिब पाँच दिन नेपाल रहँदा उनी काठमाडौंदेखि मोफसलका हलसम्म पुगेर दर्शकलाई भेट्नेछिन् ।
उनी आएपछि चलचित्रले थप दर्शक तान्ने विश्वासमा निर्माणपक्ष रहेको छ । त्यसैले ग्रिसमा रहेर क्लब फुटबल खेलिरहेकी एन्जिलालाई निर्माणपक्षले पाँच दिनका लागि मात्रै भए पनि झिकाउन लागेको हो ।
यूके र नेपालमा भएका कुनै पनि प्रिमियरमा उनी सहभागी हुन सकेकी छैनन् । त्यसैले चलचित्रर्की मुख्य कलाकार बिना नै निर्माणपक्षले चलचित्रको प्रचार गरिरहेको छ ।
‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बोको बायोपिक हो । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
१३ दिनमा आठ करोड ७ लाख रुपैयाँ यो चलचित्रले ग्रसकलेक्सन गरिसकेको छ ।
चैत २९ गते रिलिज भएको चलचित्र ‘अञ्जिला’ अहिले उच्च अकुपेन्सीसहित चलिरहेको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।