प्रकाश सपूत भन्छन्– ‘वसन्त’ले समतामूलक समाज किन निर्माण भएन भनेर व्यस्थालाई प्रश्न गर्छ

काठमाडौं । प्रकाश सपूतले आफूले समाजमा देखेको कथा ‘वसन्त’मा भनेको बताएका छन् । त्यसैले करिब ७५ प्रतिशत रियालिटी बेसमा चलचित्र रहेको उनले बताएका छन् ।

‘वसन्त’आफूले भोगेको र दखेको कथा पनि भएको उनले बताएका छन् । बिहीबार काठमाडौंमा भएको पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “त्यसैले वसन्त प्रकाशसँग धेरै हदसम्म नजिक छ ।”

आफूले समाजभन्दा बाहिर गएर कथा आजसम्म नभनेको र अब पनि समाजको यथार्थलाई नै चलचित्र र गीतमा देखाउने उनले बताए ।

जातीय विभेदको कथा मात्रै किन भन्ने प्रश्नमा उनी भन्छन्, “मेरो समाजमा जे छ मैले त्यही देखाउने हो । समाजमा एउटा कुरा छ तर त्यसलाई छोडेर मैले अर्को कुरा देखाउँन सक्दिन ।”

एउटा कुरा घटिरहेको समयमा समाज यस्तो चाहिँ हुनुपर्छ भनेर देखाउनुभन्दा जे भइरहेको छ त्यही देखाउनु आफूलाई उचित लाग्ने उनको भनाइ छ ।

यद्यपी, यस्तो किन भनेर प्रश्न भने आफूले गर्ने गरेको र त्यो प्रश्न ‘वसन्त’मा पनि अन्तिममा गरेको उनले बताए ।

कुन पार्टी र वादको पक्ष वा विपक्षभन्दा पनि आफू स्वतन्त्र भएर काम गर्ने र प्रश्न गरिरहने उनी बताउँछन् ।

“राजनीतिक दलहरूले जे भनेर हामीलाई नयाँ व्यवस्था ल्याएको त्यो पूरा नभएको सबैलाई थाहा छ,” उनी भन्छन्, “हिजो समतामूलक समाज निर्माणका लागि भनेर युद्ध भएको थियो । तर आज त्यो पूरा भएको छैन ।”

एकाध व्यक्ति विशेषलाई भेदभाव नभए पनि आज पनि गाउँगाउँमा जातीय र लैंगिक विभेद रहेको र त्यसमा सर्जक तथा श्रष्टाहरूले बोलिरहनुपर्नेमा उनको जोड छ ।

समाजको यथार्थलाई भुलेर काल्पनिक समाजको कथा आफू भन्न नसक्ने र भएको कुरा देखाउन कसैले पनि रोक्न नसक्ने प्रकाश बताउँछन् ।

‘वसन्त’की अभिनेत्री स्वस्तिमा खड्काले आफूले नदेखेको, नभोगेको र नबाँचेको समाजको कथा वसन्तले भनेको बताइन् ।

जातीय विभेद र माओवाली द्वन्द्वको समयको समाज आफ्ना लागि नयाँ भएको उनले बताइन् । त्यो समय बाँचेर आउनेहरूका लागि ‘वसन्त’ नोस्टाल्जिया हुने र त्यो समयभन्दा पछिको पुस्ताका लागि नयाँ अनुभूती हुने स्वस्तिमाको भनाइ छ ।

‘वसन्त’ चैत २२ गते प्रदर्शन हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपूत र स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाशले तयार पारेका छन् । सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ । तर, यसबाहेक पनि कथा आउने प्रकाशले बताएका छन् ।

सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । गायक तथा निर्देशक प्रकाशको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो ।

सिनेमाका छायांकार सुसन प्रजापति हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।