‘भूठान’का लागि ओहायो पुगेर हरिवंशले थाहा पाए वर्कसपको खास महत्व ?

काठमाडौं । कलाकार हरिवंश आचार्यले आफूले पहिलोपटक चलचित्रको ‘वर्कसप’ के हो भन्ने अनुभूत गरेको बताएका छन् । अमेरिकामा उनले ‘वर्कसप’ के हो र केका लागि गरिन्छ भन्ने अनुभूत गरेको बताए ।
हरिवंश चलचित्र ‘भूठान’को छायांकनका लागि अमेरिकाको ओहायो पुगेका थिए । त्यहाँ उनी केही दिन वर्कसपमा बसेका थिए । जहाँ उनलाई उनीभन्दा निकै जुनियरहरूले वर्कसपमा सिकाउन भनेर आए ।
“सुरुमा त यी केटाकेटीहरूले मलाई सिकाउने, के सिकाउँछन् हँ म यत्रो वर्ष काम गरेको व्यक्तिलाई भन्नेजस्तो लाग्यो । ममा घमण्ड भएको भए त्यस्तो भन्थेँ पनि होला,” हरिवंशले भने, “तर, सिकाउने भनेपछि केही त पक्कै जानेरै त सिकाउन लागेका होलान् । नयाँ पुस्ताबाट नयाँ कुरा सिकिएला नि त भनेर बसेको थिएँ ।”
नेपालमा वर्कसप भनेर डाइलग रटाउने गरेकाले त्यहाँ पनि त्यस्तै त होला नि भन्ने सोचेको तर त्यस्तो नभएको उनले बताए । “भूठानको वर्कसपमा बसेपछि बल्ल मैले थाहा पाएँ वर्कसप भनेको डाइलग रट्नेमात्रै होइन रहेछ,” उनले भने, “यो त क्यारेक्टरमा कसरी ट्रान्सफमेसन हुने भन्ने प्रोसेस रहेछ । क्यारेक्टरमा कसरी छिर्ने र त्यसलाई कसरी अनुभूत गर्ने भन्ने रहेछ । यो मैले भूठानको वर्कसपमा सिकेँ ।”
यो आफ्ना लागि नयाँ अनुभव भएको उनले बताए । त्यसैले यो चलचित्रबाट आफूले ठूलो अपेक्षा गरेको भन्दै उनले दर्शकले ‘भूठान’ मन पराउने उनको विश्वास छ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।
बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।
कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
चलचित्र वैशाख १२ मा प्रदर्शनमा आउनेछ ।