‘खेल’को ट्रेलरमा रहस्यमय कथा र काठमाडौंको इतिहास

काठमाडौं । सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ को ट्रेलर सार्वजनिक भएको छ । अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशनमा बनेको यो चलचित्र आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा छ ।
सिनेमाको ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।
ट्रेलरले काठमाडौंको इतिहास, अन्धविश्वास, रोगको प्रकोप र कालो जादुको कथा प्रस्तुत गर्दै रहस्यमय वातावरण सिर्जना गर्छ ।
पुराना कलाकृति, शिलालेख, मित्रताको बन्धन, असमझदारी र रहस्यजनक घटनाहरूलाई समेटिएको ट्रेलरमा लुडो र अन्य खेलहरूसँग जोडिएको एउटा रहस्यमय घटना देख्न सकिन्छ ।
सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास र मोनिका थापा तथा समापिका गौतमको फरक गतिविधिले चलचित्रको थ्रिलर पक्षलाई बलियो बनाएको छ ।
ट्रेलरमा “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग” जस्ता संवादहरूले चलचित्रको रहस्यलाई थप रोमाञ्चक बनाएको छ । चलचित्र नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ ।
काठमाडौँको होस्टेलमा अध्ययन गरिरहेका केही साथीहरू रहस्यमय घटनामा फस्ने कथावस्तुमा चलचित्र निर्मित छ ।
सिरुपाते कट्स प्रालिले निर्माण गरेको यस चलचित्रका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माता कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।
चलचित्रको छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् ।
यस चलचित्रमा ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् ।
चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।