‘वसन्त’को गीत ‘हेर्दै आँखामा’मा प्रेमको छुट्टै संसार बनाएको जोडी

काठमाडौं । चलचित्र ‘वसन्त’को गीत सार्वजनिक भएको छ । ‘हेर्दै आँखामा’ बोलको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ ।
गीतमा शब्द तथा संगीत प्रकाश सपूतको छ । गीतले प्रेमको कुरा गर्छ । एकअर्काप्रति समर्पित प्रेम जोडीको कुरा गर्छ । प्रेममा आफ्नै संसार बनाएको जोडी रमाइरहेको गीतमा उल्लेख छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार प्रकाश सपूत र स्वस्तिमा खड्का छन् ।
चैत २२ गते रिलिज हुने वसन्त’मा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाशले तयार पारेका छन् । सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ । तर, यसबाहेक पनि कथा आउने प्रकाशले बताएका छन् ।
सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक प्रकाशको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो ।
सिनेमाका छायांकार सुसन प्रजापति हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।