कस्तो देखिँदै छ ‘अभिमन्यु’को लाइनअप ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि निर्माणपक्षले कलाकार छनोट अन्तिम चरणमा पुगेको जनाएको छ ।

सुरुमा गौमाया गुरुङलाई अनुबन्ध गरेको निर्माणपक्षले त्यसयता सरिता गिरी र लक्ष्मी बर्देबालाई अनुबन्ध गरिसकेको छ । यी तीनै कलाकार चरित्र निर्माण र अभिनयमा अब्बल मानिन्छन् ।

निर्माण स्रोतका अनुसार किरण श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् । तर, निर्माणपक्षले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन ।

गुरुङ, गिरी र बर्देबाको भने केही हदसम्म क्यारेक्टर लुक्ससहित निर्माणपक्षले नाम बाहिर ल्याएको छ । तर, पूर्णरूपमा क्यारेक्टर लुक्स नै सार्वजनिक गरेजस्तो भने लाग्दैन ।

भोलि (मंगलबार) यो चलचित्रको शुभमुहुर्त हुँदैछ ।

निर्माता विनोद पौडेलले सिनेमाको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताए । केही नाम र अनुहार शुभमुहूर्त र केही चलचित्रमै देखिने उनले बताएका छन् ।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ ।