चलचित्र चलाउन गीतको सहारा नखोज

चलचित्र कसरी चल्छ र के भयो भने चल्छ ? यसका अनेक जवाफ होलान् । तर, मुख्य पक्ष भनेको सिनेको विषयवस्तु नै हो । जुन चलचित्र राम्रो छ, त्यही चल्छ । अथवा चलचित्र चल्नलाई त्यसको विषय र प्रस्तुति नै बलियो हुनुपर्छ ।

कसरी चल्छ भन्ने सन्दर्भमा पनि आआफ्नै जवाफ होलान् । व्यक्ति अनुसारका तर्क पनि होलान् । तर, यसमा पनि अन्ततः सबैभन्दा बलियो तर्क चलचित्र नै गतिलो हुनुपर्छ भन्ने नै हुन्छ ।

यति, भनिरहँदा चलचित्रको प्रचारलाई पनि भुल्न हुँदैन । जसले सिनेमाको हाइप बढाउँछ । आम दशर्कसामु सिनेमाबारे जानकारी दिन्छ ।

सिनेमाको प्रचार कसरी गर्ने भन्ने सन्दर्भमा पनि मेकर अनुसार फरक फरक होला । क्रिएटिभ मेकर छन् भने उनीहरूले फरक तरिकाले प्रचार गर्लान्, होइन भने जे चलिआएको छ, त्यसैमा निर्भर होलान् ।

धेरैले अहिले प्रचार गर्ने भनेको पोस्टर, टिजर, ट्रेलर, अन्तर्वार्ता र गीत हो ।

पछिल्लो समय त सबै भन्दा धेरै नेपाली चलचित्रका निर्माता र निर्देशक गीतलाई आफ्नो सिनेमाको पब्लिसिटीको सबैभन्दा बलियो र प्रभावकारी माध्यम मानिरहेका छन् । यसकै पछि दौडिरहेका छन् ।

पछिल्लो समय नै हेरौँ, जो बजारमा लोकप्रिय वा चर्चित छ उसकै पछि मेकर दौडिएका छन् । उसैलाई आफ्नो चलचित्रको गीत गाउन लगाइरहेका छन् ।

उदाहरणको रूपमा दुर्गेश थापालाई लियौँ । उनलाई सुरुमा रोहित अधिकारीले आफ्नो चलचित्र ‘छक्का पञ्जा’का लागि गीत गाउन लगाए । त्यसपछि उनले माने र मिलेसम्म मेकर आफ्नो चलचित्रमा दुर्गेशको गीत राख्न खोज्छन् ।

सलोन बस्नेतको चलचित्र ‘रङ्गी’मा उनको गीत थियो । ‘ह्रस्व दीर्घ’मा पनि उनको गीत थियो । अहिले ‘कर्मा’का लागि उनले गीत गाएका छन् ।

पछिल्लो समय उनी सिनेमा भित्रै राख्ने हो भने मात्रै गीत गाउँछु होइन भने हुँदैन भनेर मात्रै हो, होइन भने हरेक चलचित्रमा उनको गीत हुनेथियो ।

दुर्गेश आफैँ भन्छन्, म गायक होइन पफर्मर हुँ । गीत चल्ने त मेरो डिजाइनले हो । जो म गायक होइन पफर्मर मात्रै हुँ भनिरहेका छन्, उनैलाई गीत गाउन मेकर तँछाड मछाड गरिरहेका छन् ।

उनका गीतले सिनेमा चलाउँछन् वा चलाउँदैन, हाइप बनाउँन सहयोग गर्छन् वा गर्दैनन् ? यसको जवाफ मेकरसँग होला । केही त यसअघिको विगत हेर्दा पनि आफैँ विश्लेषण गर्न पनि सकिएला ।

जे होस्, चलचित्र चल्ने चाहिँ गीतले होइन, त्यसको बलियो कन्टेनले हो । हलमा दर्शक होल्ड गर्ने शक्ति गीतमा होइन चलचित्रमा हुन्छ । यो ध्रुवसत्य चाहिँ मेकरले भुल्न हुँदैन ।