घोषणा गरेको सिनेमा बनाउन नसकेका निर्देशकको नयाँ चलचित्रमा सुरक्षा र मुकुन

काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशमा चलचित्र ‘चमेलीको पोई’ बनाउने घोषणा गरिएँगै मुख्य कलाकार अनुबन्ध गराउन थालिएको छ ।

बोहोरा तिनै निर्देशक हुन् जसले यसअघि घोषणा गरेको चलचित्र ‘अवतार’ बनाउने घोषणा गरेका थिए । यस सिनेमामा अभिनेता पल शाह, अभिनेत्री वर्षा राउत र कलाकार सलोन बस्नेत अनुबन्धित भइसकेका पनि थिए ।

सुरुवातमा यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने तयारी समेत उनको थियो । तर, यो सिनेमाको छायांकन सुरु नै भएन ।अब चलचित्र ‘अवतार’ बन्छ या बन्दै कुनै टुङ्गो देखिँदैन ।

निर्देशक बोहराले सिनेमाको घोषणा मात्र गर्छन् कि बनाउँछन् पनि भन्ने प्रश्न उठेको छ । चलचित्रको घोषणा गर्न त सजिलो नै छ, तर निर्माण गर्न गाह्रो छ भन्ने बोहोराले पनि बुझेका छन् । तर, पनि घोषणा गरेको एउटा चलचित्र नबनाइ अर्को सिनेमामा लागेका छन् ।

निर्देशक बोहरा हाल चलचित्र ‘चमेलीको पोई’को छनोटमा लागिपरेका छन् । कमेडी शैलीको यथार्थपरक कथामा बनाउने तयारी गरिएको यस सिनेमामा सुरक्षा र मुकुन प्रमुख भूमिकामा रहनेछन् भने अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

‘चमेलीको पोइ’मा सुरक्षा र मुकुन बाहेक अन्य कलाकारहरूको लाइनअप सार्वजनिक गरिएको छैन । यही सिनेमाबाट पुराना हास्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्दै छन् । यो चलचित्र जेठबाट छायांकनमा जाने तयारीमा रहेको छ ।

यसअघि पनि बोहराले सिनेमाको घोषणा गरेर निर्माण नगरेका कारण अब ‘चमेलीको पोई’ कत्तिको सफलतापूर्वक निर्माण हुने भन्ने विषयमा पनि चासो बढेको छ ।