चलचित्र ‘ऊनको स्वीटर’को टिजरमा के छ ?

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक भएको छ । ‘ऊनको स्वीटर’को टिजरले डिजिटल युग सुरुहुनुभन्दा अगाडिको समय र प्रेम व्यक्त गर्ने शैली देखाएको छ ।
टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ ।
चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय रहेको छ ।
मुख्य पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतारचढावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले सांकेतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको संकेत गरेकी छन् ।
चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका छन् । सुरज कटुवालको सहलेखन रहेको छ ।
चलचित्रमा सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, भावना खपांगी मगरलगायतको पनि अभिनय रहेको छ ।