‘लाज शरणम्’मा कुपोषणको भूमिकामा अभिनय गरेका विकास कुपोषणले नै बिते

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ मा अभिनय गरेका बाल कलाकार विकास केसीको कुपोषणको कारण निधन भएको छ ।
महाशिवरात्रिको अवसर पारेर फागुन १४ बाट प्रदर्शनमा आएको यो सिनेमामा केसीले कुषोषित बालककै भूमिका निर्वाह गरेका थिए । वि.सं. २०६६ साउन १ मा जन्मिएका उनको जाजरकोटस्थित घरमै मंगलबार (चैत १९ गते) मंगलबार कुपोषणकै कारण निधन भएको हो ।
विकासको निधनको खबर थाहा पाएपछि सिंगो ‘लाज शरणम्’ टिम स्तब्ध बनेको छ । अहिले पनि हलहरुमा चलिरहेको चलचित्रमा उनी कुपोषित बालककै चरित्रमा देखिएका थिए । अन्तमा कुपोषणले नै विकासको ज्यान लियो ।
वास्तवमै कुपोषित बालक बनेका विकासले ‘लाज शरणम्’मा महेश त्रिपाठी र रेणु योगीका सन्तानको भूमिका निर्वाह गरेका थिए । यो सिनेमामा बुवाआमाको भूमिकामा अभिनय गरेका महेश र रेणुको कथानक सन्दर्भ र दृश्यले दर्शकको खिचेको थियो ।
जाजरकोटमा विकाससँग चरित्र चित्रणका लागि महेश र रेणुले १ महिना बिताए । उनको निधनको खबरले सबैभन्दा स्तब्ध महेश र रेणु बनेका छन् । स्थानीय सरकार र परिवारसँग अनुमति लिएरै निर्माताले विकासलाई ‘लाज शरणम्’ मा खेलाएका थिए ।
कर्णाली क्षेत्रका बासिन्दा रहेका उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रिन सिटी अस्पताल, काठमाडाैं ल्याइएको थियो । अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई कर्णाली फर्काइएको थियो।
चलचित्र युनिटले सामाजिक सञ्जालमार्फत यो दुःखद व्यक्त गरेका छन् । निर्माण टिमले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो ।
गीतकार वसन्त उदासको सहजीकरणमा उनको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न खोजिए पनि सफल हुन नसकेको टोलीले जनाएको छ ।
‘लाज शरणम्’का निर्देशक कुमार कट्टेल ‘जिग्री’ले सुटिङ्पछि तत्काल उनको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइएको थियो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर ग¥यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको उनले जानकारी दिए । सुटिङ् समयमा उनको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोवाइल उपलब्ध गराएको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘चलचित्र ‘लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रुपमा चित्रण हुनुभएका विकास के सी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो । मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ ।’
जिग्रीले केसी नेपाली चलचित्र क्षेत्रको इतिहासमा अमिट नाम बनेर रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो । यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो । यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस् । कसैलाई सुनाउनु नपरोस् । यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौँ ।’
‘लाज शरणम्’ कर्णालीको दयनीय अवस्थालाई चित्रण गरिएको चलचित्र हो । कर्णालीमा अझै पनि ५० हजार बालबालिका कुपोषणबाट पीडित रहेको अनुमान गरिएको छ ।
चलचित्रमा महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बु, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायताका कलाकारहरुको अभिनय रहेको छ ।
जेपीटी क्रिएसनले निर्माण गरेको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सहनिर्माताको रूपमा छन् । यो सिनेमाको छायांकन सुदीप बरालले गरेका हुन् ।