अब हिन्दी भाषामा प्रदर्शन हुँदै ‘आउट लः दफा २१९’

काठमाडौं । हाल प्रदर्शनरत एक्सनप्रधान चलचित्र ‘आउट लः दफा २१९’ हिन्दी भाषामा प्रदर्शन हुने भएको छ ।
होलीको अवसर पारेर गत फागुन २९ गतेबाट नेपालमा प्रदर्शन भइरहेको विक्की महर्जन निर्देशित यो सिनेमा अब हिन्दी भर्सनमा रिलिज हुने भएको हो ।
चार वर्षपछि पर्दामा फर्किएका अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र हिन्दी भाषामा रिलिज हुने भएसँगै ट्रेलर पनि सार्वजनिक गरिएको छ ।
हिन्दीमा डबिङ भइसकेको चलचित्रको मंगलबार ट्रेलर सार्वजनिक गरिएको हो । जसमा, ‘केजीएफ’ जस्ता साउथ सिनेमाको हिन्दी डबमा स्वरांकन गरेका सचिन गोले लगायतका डबिङ आर्टिस्टहरुले ‘आउट लः दफा २१९’मा आवाज दिएका छन् ।
निर्माता अमित अग्रहरीले चाँडै ‘आउट लः दफा २१९’को हिन्दी भर्सन रिलिज गरिने जानकारी दिए । चलचित्रलाई हलमा रिलिज गर्ने वा ओटीटी प्लेटफर्ममा भन्ने विषयमा कुराकानी भइरहेको उनको भनाइ छ ।
दर्शकहरुले हलहरुमा प्रदर्शनरत यस चलचित्रको एक्सन कोरियोग्राफी र मेकिङ निकै रुचाएका छन् । युटयुबमा सार्वजनिक भएको हिन्दी ट्रेलरलाई राम्रो प्रतिक्रिया मिलेको छ । कतिले हिन्दी डबिङको प्रशंसा गरेका छन् भने कतिले नेपालको हलमा नै हिन्दी भर्सन रिलिज गर्न आग्रह गरेका छन् ।
विक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतको अभिनय छ ।
यो चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन तथा रोमन बज्रचार्यको ब्याकग्राउन्ड म्यूजिक रहेको छ ।
घरेलु बक्सअफिसमा चलचित्रको व्यापार पनि सुखद् छ । नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा समेत माग बढेको छ ।