फ्राइडे रिलिजमा ‘वसन्त’, कमजोर देखियो अग्रिम बुकिङ

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज चलचित्र ‘वसन्त’ प्रदर्शनमा आएको छ । प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा पनि प्रकाश आफैँ छन् ।

प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रले नेपालभरका हलमा उच्च शो पाएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

चलचित्रले उच्च शो पाए पनि अग्रिम बुकिङ भने निकै न्यून छ । कतिपय शो मा शून्य बुकिङ छ । सामान्य हाइप भएका चलचित्र रिलिज हुँदा पनि धेरै अग्रिम बुकिङ उच्च देखिने ललितपुरको लबिम महल, भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा हल पनि खालीखाली छन् ।

अब वर्ड अफ माउथ बलियो भएन भने ‘वसन्त’लाई पाएका शो बचाउन पनि कठिन हुने देखिएको छ । आक्रामक ओपनिङ गर्छ भनेर धेरैले अपेक्षा गरे पनि त्यस्तो देखिएको छैन ।

टिकट डोर सेल भएर शोमा दर्शक भरिए भने मात्रै हो, नभए ‘वसन्त’को ओपनिङ सुखद हुने संकेत देखिएन ।