जेठ ९ मा ‘नरसिंहा अवतार’लाई ‘जन्ते बाख्रो’को चुनौती

काठमाडौं । आगामी जेठ ९ गते एकल प्रदर्शनमा आउन खोजेको चलचित्र ‘नरसिंहा अवतार’लाई ‘जन्ते बाख्रो’ले टक्कर दिने भएको छ ।
अभिनेता राजेश हमालको आठ वर्षपछिको पुनरागमन सिनेमा मानिएको ‘नरसिंहा अवतार’लाई अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘भाईरल गोर्खे’ले चुनौती दिएको हो ।
ययसअघि, जेठ ९ मा निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति तय गरिएको थियो । तर, यी दुवै चलचित्रको वितरक एउटै भएकाले ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति एक साता अगाडि सारियो र ‘नरसिंहा अवतार’लाई एकल प्रदर्शनको अवसर मिलाइएको थियो ।
अब यो मितिमा सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’ पनि आउने भएको छ ।
केही समयअघि फष्टलुक सार्वजनिक गर्दै जेठ २३ लाई प्रदर्शन मिति घोषणा गरेको गरेको थियो । तर, ‘जन्ते बाख्रो’का निर्माताले दुई साता अगाडि सारेर जेठ ९ मा ‘नरसिंहा अवतार’ सँगै भिडाउने भएका छन् ।
बिहिवार ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिकगर्दै निर्माणपक्षले अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको हो ।
जेठ ९ गते नेपाली बक्स अफिसमा यी दुई चलचित्रबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दर्शकहरूले कुन चलचित्रलाई बढी रुचाउँछन् भन्ने कुरा भने प्रदर्शनपछि मात्र थाहा हुनेछ ।
एउटै मितिमा प्रदर्शनमा आउँदा दुई चलचित्रले हलमा सोका लागि सबैभन्दा बढी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसैले कतिपय समयमा दुई सिनेमामध्ये एउटाले उक्त मितिलाई छाडिदिन्छन् । यी दुई चलचित्रले त्यस्तो कदम चाल्ने/नचाल्नेबारे भने हेर्न बाँकी छ ।
चलचित्र ‘जन्ते बाख्रो’मा सौगातसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
‘नरसिंहा अवतार’मा हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का लगायतको अभिनय रहेको छ ।
ऐतिहासिक र पौराणिक कथामा आधारित भनिएको यस चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।