‘स्टाडम’को ह्याङओभरमा गरिमा शर्मा

काठमाडौं । मनोरञ्जन क्षेत्रमा कसको भविष्य कहिले चम्किन्छ र कहिले ओझेल पर्छ, भविष्यवाणी गर्न कठिन छ । यस क्षेत्रमा हरेक कलाकारको भविष्य कतिबेला कस्तो अवस्थामा पुग्छ भन्न सकिदैन ।
पहिलो चरणको लकडाउनपछि चलचित्र क्षेत्र ठप्प रहँदा म्युजिक भिडियो क्षेत्रमा बाढी नै आयो । भिडियो क्षेत्रमा आएको बाढीले थुप्रै मोडलहरु जन्मिए । यो भिडमा मोडल गरिमासबैभन्दा अगाडि आइन् । उनको भिडियोमा व्यस्तता निक्कै बलियो थियो । सोही अनुरुप उनी भिडियो हुदै सिनेमाको पर्दा आइपुगिन् ।
म्युजिक भिडियो अभिनयमा चर्चापछि चलचित्रमा भित्रिएकी गरिमाले ‘लण्डन टु पेरिस’बाट डेब्यु गरिन् । हुन त ‘लण्डन टु पेरिस’ अगाडि उनी ‘चिलगाडी’ भन्ने सिनेमामा अनुबन्धित भएकी थिइन् । ‘चिलगाडी’ समयमा निर्माण नहुँदा ‘लण्डन टु पेरिस’ उनको डेब्यु चलचित्र बन्न पुग्यो ।
‘लण्डन टु पेरिस’पछि गरिमाले सहायक भूमिकामा ‘ह्रस्व दीर्घ’, ‘वर एण्ड वधु’मा अभिनय गरिसकेकी छन् । दुर्भाग्यवश, यी दुवै चलचित्र व्यवसायिक रूपमा असफल भए । तर, अहिले भने उनी ‘जन्ते बाख्रो’ मा मुख्य भूमिकामा देखिन लागेकी छन् ।
यसअघि सहायक भूमिकामा अभिनय गर्दै आएकी गरिमामा पहिलोपटक सोलो अभिनेत्रीका रूपमा काम गर्न पाएसँगै स्टारडमको रवाफ देखिन थालेको छ ? भन्ने चर्चा छ ।
चलचित्र क्षेत्रमा कसैले एक सफल प्रोजेक्ट पाएपछि आफूलाई सुपरस्टार ठान्न थाल्ने प्रवृत्ति नयाँ होइन । पछिल्लो समय म्युजिक भिडियो हुँदै सिनेमामा प्रवेश गरेकी गरिमाको नाम पनि यही सूचीमा थपिएको देखिन्छ ।
बिहीबार सार्वजनिक भएको ‘जन्ते बाख्रो’ को गीत ‘घामै राजा’ कार्यक्रममा गरिमा झन्डै दुई घण्टा ढिलो आइन् । अभिनेता सौगात मल्ल अर्को सिनेमाको छायांकन सेटबाट ब्रेक लिएर कार्यक्रममा आउन नपाए पनि अस्वस्थताको कारण दिइयो । तर, गरिमा भने कुनै स्पष्ट कारण नदिई ढिलो आइपुगिन् ।
गरिमा कार्यक्रममा यसरी ढिला आएको यो पहिलो पटक भने थिएन । यसअघि ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उनी ढिला पुगेकी थिइन् । त्यो बेला उनले माफी मागेकी थिइन्, तर बिहीबार भने माफी माग्नुको सट्टा ‘अब त हेलिकप्टर किन्नु पर्नेछ’ भन्दै हाँसोमा उडाइन् ।
कोही पनि मानिस कमजोररहित हुँदैनन् । तर, आफ्नो कमजोरी सुधार नगर्नु चाहिँ सबैभन्दा ठूलो कमजोरी हो । अझ कलाकारको हकमा त झन् कमजोरी सुधार्नु अनिवार्य नै मानिन्छ । तर, गरिमाको हकमा भने लाग्थ्यो यस्तो भन्दा राम्रै भइन्छ की भन्ने !
कलाकारको जीवनमा व्यस्तता स्वाभाविक हो, तर समयपालन र अनुशासन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । गरिमाले आफ्नो स्टारडम दर्शाउन खोजेकी हुन् वा साँच्चै ढिलाइको समाधान खोज्नु आवश्यक छ ।
के गरिमा ‘स्टाडम’को ह्याङओभरमा छिन् ? एक हिट सिनेमा दिन नपाउँदै यस्तो व्यवहार देखिनु उनको करियरका लागि घातक हुनसक्छ । नेपाली सिनेमा क्षेत्रमा स्टारडम टिकाइराख्न अनुशासन पनि उत्तिकै जरुरी छ । कतै गरिमाको यो बानीले उनलाई नै घाटा पुर्याउने त होइन ? समयले नै देखाउनेछ !