किन भयो ‘वसन्त’को कमजोर ओपनिङ, यी हुन् तीन कारण

काठमाडौं । चलचित्र ‘वसन्त’ले अपेक्षित ओपनिङ गर्न सकेन । ठूलो अपेक्षासहित निर्माण भएको र उच्च शो सहित रिलिज भएको सिनेमाले सुखद ओपनिङ भने गर्न सकेन ।
अग्रिम बुकिङ खुला भएदेखि नै खासै बुकिङ नदेखिएको चलचित्रमा रिलिजको दिन पनि दर्शकले धेरै साथ दिएनन् । बिहानको शोमा खासै दर्शक नदेखिए पनि दिउँसो र साँझबाट सिनेमाले पिकअप लिएला भन्ने निर्माणपक्षसहित धेरैको विश्वास थियो ।
तर, दिउँसो र साँझका शो ले पनि निराश बनाए । अब शनिबार र आइतबार बिदा छ । बिदाका दुई दिन चलचित्रले पिकअप लिने निर्माणपक्षको विश्वास छ ।
यदि, शुक्रबार सिनेमा हेरेका दर्शकले चलचित्र राम्रो लागेको बताएर ‘वर्ड अफ माउथ’ राम्रो भयो भने शनिबार र आइतबारबाट ‘वसन्त’ले रफ्तार समाउनेछ । तर, यी दुई दिन पनि चलचित्रले दर्शकको साथ नपाएको खण्डमा भने चलचित्रलाई उठन् कठिन हुनेछ ।
एउटा, संयोग भने छ, प्रकाश सपूतले यसअघि अभिनय गरेका दुईवटै चलचित्र ‘परदेशी–२’ र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि रिलिजको दुईतीन दिन पछि मात्रै राम्रोसँग चलेका थिए । त्यही बाटो ‘वसन्त’ले पनि समाउने सम्भावना भने कायम छ ।
किन सुखद् ओपनिङ गर्न सकेन ?
‘वसन्त’ले देशभरका हलमा एकलौटी शो पाएको थियो । उच्च शो पाएपछि व्यापार पनि त्यहीअनुसारको होला भन्ने स्वभाविक अपेक्षा थियो । तर, अपेक्षा विपरीत सिनेमाको व्यापार कमजोर रह्यो ।
यसअघि प्रकाशको अभिनय रहेका दुईवटै चलचित्रले राम्रो व्यापार गरेका थिए । त्यसैले यसको पनि व्यापार राम्रो हुने अपेक्षा थियो । तर, त्यस्तो हुुन सकेन ।
कन्टेन पहिलो कारण हुनसक्छ
कमजोर ओपनिङको पछाडि कारण थुप्रै हुनसक्छन् । त्यसमध्ये यसका कन्टेनको प्रभाव पनि हुनसक्छ । पोस्टर, टिजर, ट्रेलर र गीत नचल्नु पनि हुुनसक्छ ।
‘वसन्त’का कन्टेन कुनै पनि राम्रोसँग चलेका थिएनन् । सिनेमाका गीत पनि अपेक्षित चलेका थिएनन् । जबकि उनका सिंगल ट्रयाक गीत मजाले चल्थे । तर, ‘वसन्त’का गीत उनका सिंगल ट्रयाकजस्तो लोकप्रिय हुन सकेनन् ।
विषय पनि हुनसक्छ कारण
चलचित्रले जातीय विभेदको विषय उठान गरेको भनेर प्रचार भएको थियो । सुरुमा निर्माणपक्षले जातीय विभेद अथवा दलितको विषय उठान गरेको भनेर प्रचार गरेको थियो ।
तर, सामाजिक सञ्जालमा जातीय विभेदको कथा किन उठाएको, किन यो विषयलाई गिजोल्न खोजेको भन्दै आलोचना हुन थाल्यो । त्यसपछि भने प्रकाशले जातीयमात्रै होइन आर्थिक र भौगोलिक विभेद र असमानताको विषय पनि उठान गरेको भनेर प्रचार गर्न थालेका थिए ।
तर, उनले यो प्रष्टिकरण दिन थाल्दासम्म दर्शकले यसले उठान गरेको विषय जातीय विभेदको कथा नै हो भनेर थाहा पाइसकेका थिए ।
समाजबाट विस्तारै हट्दै गएको विषयलाई उठान गरेर त्यसैलाई मुद्दा बनाउन खोजेको भनेर दर्शकले सामाजिक सञ्जालमा अन्तुष्टि जनाइरहेका थिए । यो पनि ‘वसन्त’को ओपनिङ बलियो हुन नसक्नुको कारण हुनसक्छ ।
राजनीतिक कारण पनि हुनसक्छ
प्रधानमन्त्री कपी शर्मा ओलीको बारेमा लेखिएको पुस्तकको विमोचन समारोहमा गएर प्रकाशले ओलीको तारिफ गरेका थिए । देशमा केही भएको छैन र केही गर्न सकिन्न भनेर निराश भएका युवाका लागि ओली आइडल भएको भन्दै प्रशंसा गरेका थिए ।
ओलीले देश विकासका लागि बनाएको योजना र देखेको सपना साँच्चै तारिफयोग्य रहेको भन्दै ओलीलाई नेपाली राजनेताको रुपमा चित्रित गरेका थिए ।
ओलीको गुणगान गाएपछि प्रकाशलाई गालीको ओइरो लागेको थियो । उनको सिनेमा ‘वसन्त’ बहिष्कार गर्ने भन्दै निरन्तर सामाजिक सञ्जालमा गाली आइरहेको थियो । अझै पनि आइरहेको छ ।
एमालेको कार्यकर्ता भएको भन्दै आलोचना गर्दै सिनेमा नहेर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताले बताएका थिए, त्यही कारण पनि हुनसक्छ ‘वसन्त’को ओपनिङ सोचेजस्तो हुन नसक्नुको ।
अब ‘वसन्त’लाई ‘वर्ड अफ माउथ’ले मात्रै बचाउन सक्छ । शनिबारको बुकिङ पनि शुक्रबारजस्तै कमजोर देखिएकाले अब ‘वर्ड अफ माउथ’कै साहारा छ ।
‘वसन्त’मा प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।
विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।