दिव्या रायमाझी: पहिलोबाट असफलता, दोस्रोबाट धेरै आशा

काठमाडौं । नेपाली सिनेमाको नयाँ अनुहारमध्ये एक हुन्, दिव्या रायमाझी । हेर्दा ठिक्कै ग्ल्यामर, ठिक्कै स्टार फेस र ठिक्कै ‘नयाँ हिरोइन’ जस्तो लाग्ने उनी अहिले फिल्म नगरीको चर्चित पात्र बनेकी छिन् ।
नेपाली सिनेमा क्षेत्रका स्टार कलाकारकी छोरी भएसँगै मेकरको रोजाइमा परेर डेब्यु गर्न पाएकी दिव्याको करियरले जसरी गति लिनु पर्छ भन्ने थियो, त्यो ‘एक्टर: टेक वान’ले दिएको असफलताले ठप्प पारिदियो ।
पहिलो चलचित्र ‘एक्टर: टेक वान’ ले बक्सअफिसमा नराम्रो झड्का दिँदा र क्रिटिक्सबाट पनि खासै चर्चा नपाउँदा उनको करियर सुरुवातमै हल्लिएको छ । त्यो पनि प्रदीप खड्कासँगको डेब्यु, जसले दिव्याको नाम चर्चामा ल्याएको थियो । तर, स्क्रिनमा त्यो केमेस्ट्री खासै काम गरेन ।
असफलताको पहिलो झड्का पाएसँगै अब दिव्या दोश्रो चलचित्र ‘पिताम्बर’बाट दर्शकमाझ आउने तयारीमा छिन् । यो सिनेमाका ट्रेलर, गीतहरू र प्रमोशनल इन्टरभ्युहरूले भने अहिले माहोल तातो बनाएको छ । सोशल मिडिया र प्रमोशन स्टाइल हेर्दा उनी यसपटक लुक्ससँगै अभिनयले दर्शकको ध्यान तान्नमा विश्वस्त छिन् ।
अहिले दिव्या मेनस्ट्रिम हिरोइन बन्नसक्ने क्रेज बनाएर हिँडिरहेकी छन् । तर, फ्यान बेस र बक्सअफिस दुवै पखालिने पक्ष हो, यदि, स्क्रिनमा जादू देखिएन भने ।
पहिलो चलचित्रमै सुपरस्टार बन्ने सपना देखेकी दिव्यालाई अब दोस्रो सिनेमामा कतिसम्म गर्न सक्लिन् हेरौं,” भन्ने किसिमका गसिपहरू चल्न थालेका छन् ।
स्रोतका अनुसार दिव्याले यस चलचित्रका लागि निकै मिहिनेत गरेकी छन्- डान्स क्लास, एक्टिङ्ग वर्कशप र आफ्नो डायलोग डेलिभरी सुधार्न पनि कोच राखेकी थिइन् । यत्तिकै मेहनतपछि उनले ‘पिताम्बर’ मा आफूलाई पुरै ट्रान्सफर्म गरेर प्रस्तुत गरेकी छन् ।
के ‘पिताम्बर’ ले दिव्यालाई दर्शकमाझ स्थापित गर्न सक्ला? कि फेरि पनि उनी एक चलचित्रको चर्चा पछि हराउने अनुहार बनि रहनेछिन् ? नेपाली सिनेवृत्तमा अहिले ‘पिताम्बर’ हेर्ने चासो भन्दा पनि ‘दिव्या चल्छिन् कि चल्दिनन्’ भन्ने कौतुहलता बढी देखिन्छ ।
यो त शुक्रबारबाट आउने ‘पिताम्बर’ले धेरैको कौतुहलता मेट्नेछ- खासगरी दिव्याका लागि यो सिनेमा अन्तिम मौका बन्न सक्छ भन्ने चर्चा अब गसिप मात्रै होइन, यथार्थ पनि हुन सक्ने देखिन्छ । दर्शकले यसपटक उनलाई सिरियस्ली लिन्छन् वा ‘फेरि एक प्रयास’ भनेर भुल्छन्, त्यो हेर्नै बाँकी छ ।
जे होस्, दिव्याले अहिले सबैको ध्यान त खिचेकी छिन् । अब बाँकी कुरा त यो शुक्रबार हलको टिकट र तालीले बताउनेछ ।