दर्शकको प्रतिकृया बुझ्न हल पुगेका प्रकाश सपूतले के भने ?

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले दाबी गरेका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपूतले चलचित्रले दर्शकलाई कनेक्ट गरिरहेको बताएका छन् ।

“दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग सिनेमा कनेक्ट भइरहेको छ । विषयवस्तु मन पराइरहनु भएको छ,” उनले भने, “दर्शकसँग सिनेमा कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ ।”

धेरै विषय समावेश गरेकाले कुनै घटनाले कसैलाई र कसैलाई कुनै घटनाले छोइरहेको निर्देशक सपूतले बताएका छन् । आफूले क्रान्ति र आन्दोलन भन्दा पनि ‘वसन्त’ मार्फत नेपाली समाज यस्तो अवस्थाबाट गुज्रिँदै आएको भनेर देखाउन खोजेको उनले बताए ।

दर्शकले सिनेमाको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । वसन्तले राजनीतिक विषय नभएर सामाजिक कथावस्तु उठान गरेको दर्शकले बताएका छन् ।

नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले सिनेमा चेतनामुलक र सन्देशमुलक रहेको बताएका छन् । दर्शकले नै सबैलाई सिनेमा हेरिदिन पनि आग्रह गरेका छन् ।

सामाजिक कथावस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । समाजमा घटेका घटनाहरू रहेको सिनेमा राम्रो रहेको बताएका दर्शकले नै हेरिदिन आग्रह गरेका छन् ।

नेपाल र विदेशमा एक साथ यही चैत २२ गते रिलिज एको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गरेको छ ।