मानसी घोषले जितिन् ‘इन्डियन आइडल-१५’ को उपाधि

काठमाडौं । भारतको लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १५’ को उपाधि कोलकाताकी मानसी घोषले जितेकी छिन् ।

फिनालेसम्म पुग्ने पाँच उत्कृष्ट प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईकी स्नेहा शंकर तेस्रो बनेका छन् । तीव्र प्रतिस्पर्धाबीच सार्वजनिक भोटको आधारमा मानसी विजेता घोषित भएकी हुन् ।

उपाधिसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद पुरस्कार र एक कार जितेकी छिन् । उपविजेता सुभाजित र तेस्रो हुने स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यस वर्षको फिनालेमा पश्चिम बंगालका सहभागीहरुको बलियो उपस्थिति देखियो, जहाँ शीर्ष पाँचमध्ये तीनजना सोही राज्यका थिए ।

विजेता घोषित भएपछि भावुक हुँदै मानसीले भनिन्, “मैले यो ट्रफी जितेको अझै विश्वास लागिरहेको छैन । म अत्यन्तै भाग्यमानी महसुस गरिरहेकी छु कि मलाई मेरा आमाबुवा, गुरुजन, दर्शक र निर्णायकहरूको अपार माया मिल्यो । अहिले म केही भन्न सक्ने स्थितिमा छैन ।”

२४ वर्षीया मानसीलाई सानैदेखि नाच र गाउने दुबैमा रुचि थियो, तर पछि उनले गायन रोजिन् । अब उनी मुम्बईमै बसेर संगीत क्षेत्रमा आफ्नो भविष्य बनाउने योजनामा छिन् ।