‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका छन् । संगीत हरि लम्सालको छ ।
गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।
गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो,” मिलनले भने, “यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । यो नेपालको लागि ‘स्पोट्र्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोट्र्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”
फागुन २९ गते फागू पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा राम्रो बक्सअफिस कलेक्सन गरेको चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।
चलचित्रमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथा छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन् ।
‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।