मोहनलालको ‘एम्पुरान’ बन्यो सबैभन्दा बढी कमाउने मलायालम सिनेमा

मुम्बई । मलयालम चलचित्र उद्योगमा एउटा ऐतिहासिक उपलब्धि थपिएको छ ।

सुपरस्टार मोहनलाल अभिनीत सिनेमा ‘एल २ इम्पुरान’ले रिलिज भएको १२ दिनमै नयाँ कीर्तिमान स्थापित गर्दै मलयालम सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ ।

२७ मार्चमा रिलिज भएको यो चलचित्रले दर्शकमाझ ठूलो उत्साह र चर्चा बटुल्दै आएको छ ।

अभिनेता तथा निर्देशक पृथ्वीराज सुकुमारनको निर्देशनमा तयार भएको यस चलचित्रले आफ्नो प्रदर्शनको १२ औं दिनसम्म आइपुग्दा विश्वव्यापी रूपमा २५० करोड भारू भन्दा बढीको कमाई गरिसकेको छ ।

याे चलचित्रको ओपनिङ नै झनै प्रभावशाली थियो । ‘एम्पुरान’ ले विश्वभरबाट ६५ करोड रुपैयाँको ओपनिङ गर्दै मलयालम सिनेमाकाे इतिहासमै सबैभन्दा ठूलो सुरुआत गरेको थियो ।

विशेषगरि, याे चलचित्रले भारतको तुलनामा विदेशबाट झनै उच्च कलेक्सन गरेको छ । हालसम्म भारतबाट १०० करोड भारू कमाएको सिनेमाले विदेशमा १५० करोडभन्दा बढी आम्दानी गरेको छ । रामनवमीको अवसरमा आइतबार परेको ११ औं दिन चलचित्रले भारतमा मात्रै ३.९७ करोड भारू कमाएको थियो ।

यसअघि सन् २०२४ मा रिलिज भएको ‘मञ्जुम्मेल ब्वाईज’ले २४०.५ करोडको विश्वव्यापी कलेक्सन गर्दै कीर्तिमान बनाएको थियो । तर, अब उक्त रेकर्ड ‘एल २ इम्पुरान’ ले तोड्दै नयाँ इतिहास बनाएको छ ।

चलचित्रका मुख्य कलाकार मोहनलाल र निर्देशक पृथ्वीराज सुकुमारनले सामाजिक सञ्जालमार्फत सिनेमाकाे सफलता बारे खुसी साटेका छन् । फिल्मप्रेमी दर्शकहरूले पनि सामाजिक सञ्जालमा चलचित्रको प्रशंसा गर्दै सफलता मनाइरहेका छन् ।

साथै, ‘एल २ एम्पुरन’ यस वर्षको सबैभन्दा धेरै कमाउने चलचित्रहरूको हिसाबले तेस्रो नम्बरमा छ । त्यसभन्दा अगाडि विक्की कौशलको ‘छवा’ र अभिनेता वेंकटेशको ‘संक्रान्तिकी वास्तुनम’ मात्र छन् ।