चलचित्र प्राविधिकको पारिश्रमिक नदिने निर्माता र ब्यानरका सिनेमा बहिष्कार गर्दै प्राविधिक संघ

काठमाडौं । नेपाली चलचित्रका निर्माता तथा निर्माण कम्पिनीबाट समयमै पारिश्रमिक नपाउने समस्या चुलिंदै गएपछि अब चलचित्र प्राविधिक संघ कडा कदम चाल्ने भएको छ ।
संघले तोकिएको समयमै पारिश्रमिक नदिने निर्माता तथा ब्यानरका चलचित्रलाई पूर्ण बहिष्कार गर्ने तयारी गरेको हो ।
लामो समयसम्म प्राविधिकको पैसा नदिने निर्माता र व्यानरका सिनेमा बहिष्कार गर्ने तयारीमा चलचित्र प्राविधिक संघ रहेको छ ।
काम सकिएपछि पनि पैसा रोक्ने निर्माताका चलचित्रको सुटिङमा संघले एकजना प्राविधिक पनि नपठाउने तयारी गरिरहेको छ । काम सकिएपछि पनि पैसा नदिने व्यानरको संख्या र निमार्ताको संख्या पहिचान गर्ने काम भइरहेको संघले जनाएको छ ।
यस विषयमा संघले केही समयअघि चलचित्र विकास बोर्डसँग औपचारिक छलफल समेत गरेको थियो । संघले चलचित्र दर्ता तथा सेन्सरका लागि संघको सिफारिस अनिवार्य गरिनुपर्ने माग राखेको छ ।
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)का महासचिवका युवराज कार्कीका अनुसार लामो समयदेखि विभिन्न निर्माता तथा ब्यानरहरूले काम गरिसकेका प्राविधिकलाई पारिश्रमिक नदिने गरेको गुनासो बारम्बार आइरहेको छ । उक्त समस्या समाधानको पहलस्वरूप संघले अब यस्ता ब्यानर र निर्माताको पहिचान गरी उनीहरूको चलचित्रमा एकजना पनि प्राविधिक नपठाउने निर्णयमा पुगेको बताए ।
“हामी प्राविधिकहरू आफन्तको भावना बोकेर दिनरात नभनी काम गर्छौं । तर, जब रिलिजको कुरा आउँछ, हामीलाई बेवास्ता गरिन्छ । कतिपय प्राविधिकले त रिलिजपछि पनि पैसा पाएका छैनन्,” कार्कीले भने, “चलचित्र सेन्सरका लागि प्रोडक्सन हाउसको सिफरिस मागिन्छ । हरेक प्रविधिकसँग सम्झौता पत्र हुदैन त्यही भएर हामीले चलचित्र दर्ता र सेन्सरका लागि संघको सिफारिस अनिवार्य गरिनुपर्ने माग राखेका हौं ।,”
कार्कीले थपे, “यदि यो माग कार्यान्वयन भयो भने प्राविधिकले पारिश्रमिक नपाएसम्म चलचित्रले सेन्सर प्रमाणपत्र पाउने छैन, जसका कारण रिलिजसमेत रोकिनेछ । संघले यसलाई समस्याको दीर्घकालीन समाधानको उपायका रूपमा लिएका छौं ।“
चलचित्र दर्ता गर्दा र सेन्सरका लागि सिफारिस गर्दा प्राविधिक संघको सिफारिस लिनुपर्ने व्यवस्था गरिदिन संघले माग गर्दै आएको छ । संघेको सिफारिस चाहिने भएपछि प्राविधिकको पैसा नदिइ सेन्सर नै नहुने भएपछि प्राविधिकको पैसा रिलिज अगाडि नै क्लियर हुने संघको विश्वास छ ।
संघले यो कदमलाई कार्यान्वयन गर्न सबै फिल्मकर्मी, कलाकार, निर्देशक तथा निर्माता वर्गको पनि समर्थन अपेक्षा गरेको छ । पारिश्रमिक प्राप्तिका लागि एकजुट प्रयास नगरेसम्म यो समस्या झनै गम्भीर बन्दै जाने महासचिव कार्कीको भनाइ छ ।
“यस कदमलाई दीर्घकालीन समाधानको सुरुवातको रूपमा लिएको छौं । हाम्रो उद्देश्य कसैलाई दु:ख दिनु होइन, तर मेहनतको मूल्य सुनिश्चित गर्नु हो,” महासचिव कार्कीले भने, “जबसम्म सम्पूर्ण पक्ष एकजुट हुँदैन, समस्या झनै जटिल बन्न सक्छ । अब समय आएको छ, हाम्रा अधिकारका लागि दृढ हुन ।”
हाल चलचित्र प्राविधिकको संख्या करिब २६ सय छ । यसमा १६ देखि १७ सय सक्रिय प्राविधिक छन् ।
चलचित्र प्राविधिकमा प्रोडक्सन म्यानेजर, स्पट ब्वाई, लाइटम्यान, क्यामेराम्यान, मेकअप आर्टिस्ट, भीएफएक्स, सम्पादक, कलरिस्ट, आर्ट डिरेक्टर, कस्ट्युम डिजाइजनर, किचन डिमार्टमेन्टसम्म पर्छन् ।