‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक, स्पेशल स्क्रिनिङमा प्रकाशको तारिफ

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत निर्देशित सिनेमा ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ ।
सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपूत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपूतकै स्वर, शब्द रचना तथा कम्पोज छ । योगश काजी शाहको एरेञ्ज रहेको छ ।
सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक तथा गायक सपूतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।
यसैबीच, सिनेमाको निर्माण टिमले सोमबार कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेसल स्क्रिनिङको समेत आयोजना गरेको थियो ।
जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरीलगायतले सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपूतको कथा भन्ने शैली र समाजको यतार्थ चित्रण गरेको भन्दै तारिफ गरेका छन् ।
चैत २२ गतेबाट नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकास सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ ।
सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।