‘कार्की साइँला’मा जितु

काठमाडौं । कलाकार जितु नेपाल नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’मा अनुबन्धित भएका छन् ।
कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने सिनेमाको मुख्य भूमिकाकालागि निर्माणपक्षले कलाकार नेपालसँग हालै सम्झौता गरेको हो ।
यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’मा देखिएका नेपालले एक महिनाअघि ‘परालको आगो’ पनि सम्झौता गरेका थिए ।
‘कार्की साइँला’लाई राजेन्द्र बस्नेतले निर्देशन गर्दै छन् । निर्माणपक्षले केही समय अघि चलचित्रको भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियाको थिम पोस्टर सार्वजनिक गरेको थियो ।
चलचित्रको मूल पात्र एक भरिया हुन्, जसको जीवन संघर्ष र संवेदनालाई पर्दामा उतारिने छ । नेपाली सिनेमामा मौलिक कथावस्तु र ग्रामीण सन्दर्भ समेटेर फरक स्वाद दिने तयारीमा रहेको निर्माणपक्षको भनाइ छ ।
यो सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने बालकुमार राई र श्याम मगर निर्माता रहेका छन् । निर्देशक बस्नेतका अनुसार ‘कार्की साइँला’ ग्रामीण जीवन र भुइँमान्छेको कथा प्रस्तुत गर्ने उद्देश्यले निर्माण हुँदैछ ।
चलचित्रमा डम्बर बहादुर राईको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद, र जीवननाथ गौतमको गीत समावेश गरिएको छ ।
धनकुटामा छायांकन हुने यस सिनेमाका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले जानकारी दिएको छ ।