रकम ठगी गरि ‘रावायण’ निर्माण गरिएको विवादमा पूजाको प्रष्टीकरण- ‘म पनि पीडित भएको महसुस गर्दैछु’

काठमाडौं । अभिनेत्री तथा निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो चलचित्र ‘रावायण’को विवादबारे प्रष्टीकरण दिएकी छन् ।

केही दिनअघि न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा यस चलचित्रका कार्यकारी निर्माता सुसन पाठकले वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरूसँग रकम ठगी गरेको आरोप लगाएका थिए ।

पाठकमाथि विभिन्न विद्यार्थीहरूलाई युरोपको माल्टा पठाइदिने बहानामा प्रति विद्यार्थी औसत १० लाख रुपैयाँ असुलेर सो रकम ‘रावायण’मा लगानी गरेको आरोप लागेको छ । किंग्स पार्क एजुकेसन कन्सल्टेन्सीमार्फत पैसा संकलन गरेका पाठकले कन्सल्टेन्सी बन्द गरेर पछिल्लो आठ महिनादेखि सम्पर्कविहीन रहेको पीडित विद्यार्थीहरूको भनाइ छ ।

उक्त कार्यक्रममा पीडित विद्यार्थीहरूले पाठकले सिभिल्ला एजुकेसन कन्सल्टेन्सीको नाममा रसिद दिएको पनि उल्लेख गरेका छन् ।

विद्यार्थीबाट करोडौंको ठगी गरि चलचित्र निर्माण गरेको विवाद चुलिँदै जाँदा यस चलचित्रकी निर्माता तथा अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिएकी छन् ।

पूजाले शुक्रवार फेसबुक स्टाटसमा लेख्दै आफू उक्त घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नरहेको बताएकी छन् । पाठकले लगानी गर्ने सहमति गरेपछि उनलाई कार्यकारी निर्माता बनाइएको भए पनि उनले हालसम्म कुनै आर्थिक योगदान नगरेको पूजाको दाबी छ ।

पूजाले आफ्नो समेत ठगी भएको बताउँदै पाठकले उनलाई पनि लगातार टारिरहेको बताएकी छन् । उनले भनेकी छन्, “प्राविधिक र टिमका सदस्यलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व पाठककै हो, तर मैले आफैले केहीलाई चेकमार्फत तिर्नुपर्‍यो ।” साथै, उनले सम्बन्धित निकायहरूलाई यसबारे गम्भीर अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेकी छन् ।

लगानीसमेत उठाउन नसकेको यस चलचित्रका टेक्निसियन र अन्य केही टीम सदस्यहरूले अहिलेसम्म पैसा पाएका छैनन् । यो चलचित्रको निर्माणपछि १५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक नपाएको भन्दै प्राविधिकहरूले निर्माताविरुद्ध प्राविधिक संघमा उजुरी दिएका छन् । केही प्राविधिकहरूले अहिलेसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

चार करोडभन्दा बढी लागतमा बनेको यस सिनेमाले घरेलु बक्सअफिसमा १ करोड ५४ लाख रुपैयाँ ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ ।

यस्तो छ पूजाको फेसबुकमा स्टाटस्

‘हालका दिनहरूमा मिडिया तथा सामाजिक सञ्जालमा विदेश अध्ययनको नाममा उठाइएको रकम सम्बन्धी केही भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेका छन् । यस सन्दर्भमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि मेरो सो विषयसँग कुनैपनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन । विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुषान पाठक हुन्, जो हाल फरार अवस्थामा छन् र मलाईसमेत लगातार टारिरहेका छन् । म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु र सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दछु ।’

सुदर्शन थापाको निर्देशनमा बनेको एक्शनप्रधान ‘रावायण’मा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा छन् ।