‘अञ्जिला’ पाँचौं हप्तामा पनि उच्च शो र अकुपेन्सीमा

काठमाडौं । चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौं हप्ताको शनिबार समेत उत्साहजनक व्यापार कायम राखेको छ । काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शोसहित प्रदर्शन भइरहेको छ ।

अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको निर्माणपक्षको दाबी छ ।

फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा खासै धेरै असर परेको छैन ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।

निर्देशक मिलन चाम्सले चलचित्रकी पात्र एन्जिला तुम्बापो सुब्बाले भोगेको जीवन कतै न कतै सबै नेपालीको जीवनसँग मेल खाने भएका कारण दर्शकसँग त्यसको भावनात्मक सम्बन्ध कायम रहेको बताए ।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।