अनमोलको ‘फर्की फर्की’ले भन्दा प्रदीपको ‘पुजार सार्की’ले कमाएको थियो २ करोड ५२ लाख रुपैयाँ बढी

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अनमोल केसी र प्रदीप खड्का प्रतिस्पर्धी मानिन्छन् । सामाजिक सञ्जालदेखि मिडियासम्ममा उनीहरु प्रतिस्पर्धी रहेको खबरहरू आउँछन् ।

त्यसैले उनीहरूका सिनेमा रिलिज हुँदा कसले कति कमाउँछन् भन्ने चासो हुने नै भयो । विसं. २०८१ मा प्रदीप र अनमोलको सिनेमा एकै दिन रिलिज भएपछि उनीहरू प्रतिस्पिर्धी रहेकैले एकै दिन चलचित्र प्रदर्शनमा आएको भनेर धेरैले अनुमान लगाए ।

त्यसैले यी दुईमध्ये कसको चलचित्रले धेरै कमाए भन्ने चासो हुनु स्वभाविक हो । तर, रियल बक्सअफिस डाटा आएको थिएन । त्यसैले विभिन्न तथ्यांक आइरहेका थिए ।

रियलमा अनमोल र प्रदीपका चलचित्रले बक्सअफिसमा कति कलेक्सन गरेका थिए त ?

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार अनमोलको भन्दा प्रदीप खड्काको चलचित्र अगाडि देखिएको छ ।

अनमोलको ‘फर्की फर्की’ले भन्दा प्रदीपको ‘पुजार सार्की’ले २ करोड ५२ लाख ७१ हजार ५१८ रुपैयाँ बढी कमाएको तथ्यांक छ ।

‘फर्की फर्की’ले ४ करोड ८४ लाख ८७ हजार १९८ ग्रसकलेक्सन गरेको छ । यो सिनेमा १ लाख ६७ हजार ३३६ जना दर्शकले हेरेको बक्सअफिस तथ्यांक छ ।

‘पुजार सार्की’ले ७ करोड ३७ लाख ५८ हजार ७१६ ग्रसकलेक्सन गरेको छ । यो सिनेमा २ लाख ५८ हजार ६४० जनाले हेरेको बक्सअफिस तथ्यांकले देखाएको छ ।

जेठ १० गते चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका थिए ।

‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा थिए । सुयोग गुरुङ निर्देशित चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका थिए ।

‘पुजार सार्की’मा प्रदीप खड्कासँगै आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा थिए । ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सुवास भुसालले निर्माण गरेका थिए ।

यी दुवै चलचित्र देशभरका मल्टिप्लेक्समा करिबकरिब बराबरीको संख्यामा शो संख्यासहित रिलिज भएका थिए । तर, वर्ड अफ माउथ राम्रो हुँदा ‘पुजार सार्की’ले राम्रो कमाई गरेको थियो ।