विजय बराल चम्किएको वर्ष

काठमाडौं । विसं. २०८१ विजय बराल चम्किएको वर्ष हो । सधैँ मुख्य पात्रको वरिपरि घुम्ने र उसैलाई चम्काउने र टल्काउने भूमिकामा देखिँदै आएका विजय बरालले जब सोलो लिडको मौका पाए तब देखाइहाले आफ्नो क्षमता ।
कुरा हो, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को र यसका हिरो विजय बरालको अभिनयको । चलचित्र टिमवर्क हो । टिमका रहेक व्यक्तिको उत्तिकै मिहिनेतले सिनेमा चल्छ ।
तर ‘पूर्ण बहादुरको सारङ्गी’मा करिब करिब विजय एक्लैले जस लिए । उनको अभिनयको बलमा नै यो चलचित्र चलेको भनेर धेरैले भने । जे होस् उनको अभिनयको तारिफ भयो । उनको कामको प्रशंसा भयो । सिनेमा ब्लकबस्टर भयो ।
विजय अन्डर डग हुन् । उनमा अभिनयको गज्जब क्षमता छ । उनी अभिनयमा केही कसर बाँकी राख्दैनन् । मात्रै उनले अभिनयमा लिडमा अवसर नपाएका हुन् । जब पाए प्रमाणित गरेर देखाए ।
उनले यसअघि काम नै नपाएका भने होइनन्, लिड रोल मात्रै नपाएका हुन् । सहायक रोलमा त उनले सयौँ चलचित्रमा काम गरिसकेका छन् ।
२०८१ मै उनले ‘राजागंज’, ‘बेहुली प्रम मेघौली’, ‘एन्जिला’, ‘लाजशरणम्’मा काम गरे । अघिल्लो वर्ष रिलिज भएर ०८१ मा प्रर्दशन भएको चलचित्र ‘डिग्री माइला’मा पनि उनले काम गरेका थिए ।
सहायक भूमिकामा रहेका बेला पनि विजयको अभिनयको तारिफ हुने नै गरेको हो । तर मुख्य कलाकारका कारण उनी छायामा पर्दै आएका थिए । समीक्षकले भने उनको गज्जवले तारिफ गर्दै आएका थिए ।
तर, जब उनले सोलो मुख्य भूमिकामा अवसर पाए उनले होल नेपाली चलचित्र उद्योगका कलाकारलाई नै ओझेलमा पारिदिए । वर्षौंदेखि नेपाली चलचित्रमा एकलौटी अगाडि रहेका हिरोलाई पनि पछि पारेर बक्सअफिसमा कमालको रेकर्ड राखिदिए ।
नेपाली चलचित्र उद्योगकै सर्बकालीन ब्लक बस्टर सिनेमा दिए । उनको सिनेमाले नसोचेको कमाइ गर्यो । ४६ करोड नेपाली बक्सअफिसमा मात्रै कलेक्सन गर्यो । ओभरसिज मार्केटबाट ३० करोडभन्दा माथि कमायो । जुन रेकर्ड आजसम्म नपाली चलचित्र उद्योगमा कुनै पनि हिरोका चलचित्रले बनाएका थिएनन् । त्यसैले ०८१ लाई विजय बराल चम्किएको वर्ष भन्न सकिन्छ ।
रकेडै रेकर्ड आफ्नो खल्तीमा परेपछि अहिले विजयलाई भ्याइनभ्याइ छ । सोलो लिडमा काम गरिरहेका छन् । अब एकपछि अर्को लिड रोल रहेका उनका चलचित्र आउँदा दिनमा रिलिज हुनेछन् ।