दीपेन्द्रका सिनेमामा किन छुट्दैनन् खगेन्द्र ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा निर्देशक दीपेन्द्र के खनाल सोसल ड्रामा सिनेमा निर्माणका लागि उम्दा नाम हो । सामाजिक कथावस्तुमा दीपेन्द्र चलचित्र बनाइरहेन्छन् ।

त्यसो त उनले विभिन्न जनरामा सिनेमा बनाएका छन् । विभिन्न जनरा एक्सपोलर गर्ने निर्देशकमा उनको नाम अगाडि आउँछ । पछिल्लो समय उनले कमेडी जनरामा सिनेमा बनाए, के घर के डेरा ।

तर, उनको असली पहिचान भने जनर सिनेमा नै हो । सोसल ड्रामा नै हो । उनले बनाएर प्रदर्शन हुन बाँकी पोलिटिकल सिनेमा पनि छ, मेयर ।

तर, जेठ २ गते रिलिज हुने चलचित्र ‘के घर के डेरा : घर नं. २’ सोसल ड्रामा हो ।

उनले आफूलाई स्थापित गरेको सोसल ड्रामा होस् वा पोलिटिकल दीपेन्द्रका प्रायः सिनेमामा नछुट्ने नाम हो खगेन्द्र लामिछाने । खगेन्द्र उनका प्रायः सिनेमा हुन्छन् नै ।

दीपेन्द्रलाई बलियोसँग स्थापित गरेको चलचित्र ‘पशुपतिप्रसाद’मा त खगेन्द्र मुख्य भूमिकामा नै छन् । चलचित्रको मुख्य पात्र पशुपतिप्रसाद नै खगेन्द्र हुन् ।

दीपेन्द्रको अर्को चलचित्र ‘धनपति’मा पनि खगेन्द्र छन् । खगेन्द्र नै यो चलचित्रको मुख्य पात्र हुन् ।

‘पशुपतिप्रसाद–२ : भष्मे डन’मा पनि खगेन्द्र छन् । तर, यो चलचित्रमा उनी क्लाइमेक्समा मात्रै छन् । यसको सिक्वेलका लागि उनलाई हिरो बनाउनका लागि क्लाइमेक्समा छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा : घर नं. २’मा पनि मुख्य भूमिकामध्ये एकमा खगेन्द्र नै छन् ।

दीपेन्द्रले खिचिसकेको तर प्रदर्शनको मिति तय नभएको चलचित्र ‘मेयर’मा पनि खगेन्द्र छन् । ‘मेयर’को मेयर अथवा मुख्य भूमिकामा नै खगेन्द्र छन् ।

दीपेन्द्रको पाइपलाइनमा रहेको चलचित्रमा पनि खगेन्द्र रहेको बताइएको छ । दीपेन्द्रका चलचित्रमा केही चलचित्रमा खगेन्द्र स्क्रिप्ट राइटरका रूपमा पनि रहने गरेका छन् ।

ट्युनिङ मिल्ने, समाज बुझेको र खगेन्द्र आफैँमा राम्रो कलाकार पनि भएकाले आफूले खेगेन्द्रसँग सहकार्य गरेको दीपेन्द्र बताउँछन् ।

“मेरा कति चलचित्रमा त उहाँ लेखक पनि हुनुहुन्छ । त्यसले पनि सहज भयो । हामी सँगै निर्माता पनि छौँ,” उनी भन्छन्, “सबैभन्दा पहिला त सामाजिक कथा भन्न उहाँ सहज पात्र हो भन्ने पनि लाग्छ । यसको अर्थ अरु सामाजिक कथाका लागि फिट हुनुहुन्न भनेको होइन । ट्युनिङ मिल्ने भएकाले पनि हामीले सँगै काम गर्नेक्रम बाक्लिएको होला ।”