अब फेरि रामबाबु र उपेन्द्र नफुटुन्

निर्देशक रामबाबु गुरुङ र लेखक तथा निर्देशक उपेन्द्र सुब्बा अन्ततः एउटै चलचित्रमा काम गर्न सहमत भएका छन् । लामो समय सँगै काम गरेको रामबाबु र उपेन्द्र केही समय अगाडि अलगअलग भएका थिए ।
चलचित्र ‘जारी’ रिलिज भएपछि अलगअलग भएका उनीहरू ‘जारी–२’ भने सँगै बनाउने भएका छन् । अलगअलग भएपछि रामबाबु र उपेन्द्रले क्रमशः ‘डिग्री माइला’ र ‘मनसरा’ बनाएका थिए ।
राम्रो हाइप बनाए पनि यी चलचित्रले अपेक्षित कमाइ गर्न सकेनन् । समीक्षा पनि राम्रो पाउन सकेनन् । त्यसपछि उनीहरू सँगै काम गर्न तयार भएको देखिन्छ । ब्यानर समेत छुट्टाछुट्टै बनाएर सिनेमा बनाएका उनीहरू एकै ठाउँमा आइपुगेका हुन् ।
लामो समय सँगै काम गरेका उनीहरू ‘जारी’को कमाइको बाँडफाँटमा असन्तुष्टि जनाउँदै अलगअलग भएको समाचार बाहिरिएको थियो । यदि, समाचारमा सत्यता थियो भने पारदर्शिताको कमी थियो ।
आर्थिक पारदर्शिता उनीहरू छुट्टिएर सिनेमा बनाउनुको कारण नहुन पनि सक्छ । तर, सिनेमा मात्रै होइन जुनसुकै बिजनेसमा पनि पार्टनरसिपमा आर्थिक पारदर्शिता पार्टनरसिप टुट्नुको मुख्य कारण हुने गरेको छ ।
त्यसैले जहाँ पारदर्शिता हुँदैन, त्यो पार्टरसिप र बिजनेस लामो समय जाँदैन । गए पनि त्यहाँ बिजनेस राम्रो हुँदैन । त्यसैले पार्टनरसिपमा मनमा तुस राखेर बस्नु नै सबैभन्दा घातक मानिन्छ । मनमा रहेको कुरा प्रष्ट भन्ने र आर्थिक कारोबार प्रष्ट पारे पार्टनरसिप जस्तो राम्रो एक्लै गरिएको काम हुँदैन ।
यसको उदाहरण ‘कबड्डी’ सिरिज र ‘जारी’ तथा ‘डिग्री माइला’ र ‘मनसरा’ हेरे पुग्छ ।
‘जारी–२’ छायांकनमा जाने मिति नै टुंगो लागिसकेको छ । यो पछि ‘कबड्डी–५’ बन्ने पक्का भइसकेको छ । अब फेरि यो टिम नफुटोस् । टिम फुट्ने वातावरण नओस् । रामबाबु र उपेन्द्र सँगै बसुन्, राम्रा चलचित्र उनीहरूबाट आउन् ।
नेपाली सिनमा उद्योगमा कोही स्थायी शत्रु र कोही स्थायी मित्रु हुँदैन भन्नेछ । व्यवहारले पनि त्यही देखिएको छ । इतिहासले पनि यही देखाउँछ ।
तर, अब त्यस्तो नहोस्, यो फिल्मी जोडीको सहकार्य सधैँ कायम रहोस् । नेपाली चलचित्र उद्योगका लागि यी दुईको सहकार्य अनुकरणीय होस् ।