‘महाभोज’का दुई नयाँ पोस्टरमा के छ ?

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महाभोज’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

दिनेश राउतले निर्देशन गरेको यो सिनेमाले समसामयिक विषयवस्तु प्रस्तुत गर्नेछ । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको दुई पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गरेको छ ।

रोयल भीमसेनले डिजाइन गरेको चलचित्रका दुई पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ ।

‘महाभोज’ मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा रहेको निर्देशक राउतले बताए । ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु,’ उनले भने ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ ।

‘महाभोज’का निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइनेछ ।

निर्देशक राउतले पोस्टर सार्वजनिक गर्दै चलचित्रको टिजर वैशाख ९ गते सार्वजनिक गरिने जानकारी दिएका छन् ।