चलचित्र ‘मैना’ मैना सुनारको कथा बन्न लागेको हो ?

काठमाडौं । चन्द्र कुमार भट्टराईले चलचित्र ‘मैना’ निर्देशन गर्दैछन् । केही दिन अगाडि राजेन्द्र ढकाल (राहुल)ले निर्माणको घोषणा गरेको चलचित्र ‘मैना’लाई भट्टराईले निर्देशन गर्दैछन् ।
चलचित्रको थिम पोस्टर पनि सार्वजनिक भइसकेको छ । थिम पोस्टर सार्वजनिक गरे पनि निर्देशक र निर्माता दुवैैले यो चलचित्रको विषय खुलाएका छैनन् ।
तर, नामका आधारमा धेरैले यो चलचित्र काभ्रेपलाञ्चोककी मैना सुनारको हो कि भन्ने आंकलन गरेका छन्, जसको ज्यान सेनाको हिरासतमा भएको थियो ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा २०६० फागुन ५ गते नेपाली सेनाका अधिकृतहरूले मैना सुनारलाई काभ्रेस्थित उनको घरबाट श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे । सो तालिम केन्द्रमा दुई सहसेनानीसहित सात नेपाली सेनाका अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो ।
तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम ६–७ पटक एक मिनेटसम्म पानीको एउटा ठूलो भाँडोमा उनको टाउको डुबाइयो । त्यसपछि सैनिकहरूले उनका भिजेका हात र खुट्टामा चार–पाँचपटक करेन्ट लगाए ।
यस्तो यातना डेढघण्टासम्म दिइयो । त्यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो । जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर राखियो । उनले त्यहीँ वान्ता गर्न र मुखमा फिँज काढ्न थालिन् । औषधि उपचार नपाएपछि उनको मृत्यु भयो ।
यातनामा संलग्न अधिकृत र सैनिकहरूले मृत्युको ढाकछोप गर्न प्रयत्न गरे । उनको शवको ढाडमा गोली हानेर तालिम केन्द्रभित्र गाडियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेपाली सेनाको हिरासतबाट भाग्न खोज्दा मैना सुनारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे । मैना सुनारको हत्या अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित मुद्दा हो ।
मैनाको हत्यासम्बन्धी मुद्दामा नेपाली सेनाका तीनजना अधिकृतलाई काभ्रे जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको थियो । माओवादी सशस्त्र द्वन्द्वसँग सम्बिन्धत मानवताविरोधी अपराधमा जिल्ला अदालतबाट नेपाली सेनाका अधिकृतलाई सजाय दिइएको यो पहिलो घटना थियो ।
थिम पोस्टरले पनि सिनेमा क्राइम थ्रिलर हुने संकेत गरेको छ । तर, निर्मापक्षले हालसम्म केही बोलेको छैन । यद्यपि, नाम र थिम पोस्टरका आधारमा मैना सुनारकै घटनामा सिनेमा हो कि भनेर अनुमान लगाउन सकिन्छ ।
निर्माणपक्षले हालसम्म कलाकारबारे पनि जानकारी दिएको छैन । कलाकार अनुबन्ध गरेको कुरा बाहिर आएर लिडमा महिला कलाकार रहेको खण्डमा भने मैना सुनारकै कथा हो भन्ने अनुमानमा थप बल पुग्नेछ ।
सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् ।
चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।
चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ ।
चलचित्र कहिले रिलिज हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताए ।