सामाजिक सञ्जालमार्फत ‘उनको स्वीटर’का कलाकारको पात्र परिचय

काठमाडौं । वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘ऊनको स्वीटर’ । यो चलचित्रको ‘काफ्ले’ बोलको गीत रिलिज भइसकेको छ ।

झुमा लिम्बु र सुजन चापागाईंको स्वर, झुमाकै संगीत र युवराज काफ्लेको शब्द रहेको गीतले दर्शकको मन जितिरहेको छ ।

टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।

‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । ट्रेन्डकै रुपमा चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बू र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बूको भूमिका निर्वाह गरेका छन् ।

यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।

आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ ।”

‘ऊनको स्वीटर’लाई नवीन चौहानले निर्देशन गरेका छन् ।