‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न, हरिवंश आचार्यको नयाँ अवतारले सबैको मन जित्यो

काठमाडौं । अभिनेता हरिवंश आचार्यको मुख्य भूमिकामा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर मंगलबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा सम्पन्न भएको छ ।

वैशाख १२ गते अर्थात् शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने चलचित्रको प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले चलचित्र हेरेपछि ‘भूठान’ले नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्‍याएको प्रतिक्रिया दिएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्रले आफ्नो पहिचान गुमाउँदाको पीडालाई गहिरो रूपमा उजागर गरेको बताए । उनले भने, “भूठानले मनको कुनामा लुकेको गम्भीर प्रश्नलाई उजागर गर्छ– यदि मैले आफ्नो देश र पहिचान गुमाएँ भने के होला ?”

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा चलचित्रले देश गुमाएका शरणार्थीहरूको कथा विश्वसामु प्रस्तुत गरेकोमा प्रशंसा गर्दै भने, “भूठानी शरणार्थीको जीवन, पीडा र संवेदनालाई अत्यन्त प्रभावशाली ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ । यो केवल फिल्म होइन, मानवीयताको प्रतिविम्ब हो ।”

गायिका आनी छोइङ डोल्माले चलचित्रको गहिराइप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “फिल्ममा यति धेरै कुरा छन् कि हाम्रा दर्शकले यसको मर्म बुझ्न सक्लान् कि सक्दैनन् भन्ने चिन्ता लाग्छ । तर बुझ्न सके यो फिल्म अमूल्य छ ।”

अभिनेत्री मनिषा कोइरालाले फिल्मलाई ‘पेनफुल पोएट्री’को संज्ञा दिँदै भनिन्, “सिनेमाटोग्राफीदेखि संवाद लेखनसम्म सबै पक्ष उत्कृष्ट छन् । कथावाचन अत्यन्तै भावुक र शक्तिशाली छ ।”

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, खेलाडी सोमपाल कामी, निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि चलचित्रको विषयवस्तु, अभिनय र निर्देशनको खुलेर प्रशंसा गरे।

विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

हरिवंश आचार्यको फरक भूमिकामा अवतरण र भूटानी शरणार्थीको गहिरो कथावाचन रहेकाले ‘भूठान’ले नेपाली सिनेमामा विशेष स्थान दिलाउने विश्वास गरिएको छ ।