डिजिटल लतले निम्त्याउने संकट देखाउँदै ‘झिल्को’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असर ट्रेलरमा देखिन्छ ।

ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ ।

डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ ।

वैशाख १९ गते रिलिज हुने चलचित्रको प्रमुख कलाकार आयुषी ढकाल हुन् । सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।

चलचित्रका निर्देशक यादवकुमार भट्टराई हुन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।