फ्राइडे रिलिजमा ‘भूठान’ र ‘खेल’

काठमाडौं । फ्राइडे रिलिजमा आज शुक्रबार (वैशाख १२)बाट दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । जसमा ‘भूठान’ र ‘खेल’ एकसाथ रिलिज भएका हुन् ।

यी दुवै सिनेमा कमजोर प्रचारका बीच शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएका छन् । चलचित्र ‘खेल’ त दर्शकमाझ पुग्न सकेको छैन ।

विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘भूठान’ले आफ्नो प्रचारलाई फरक तरिकाले गरे । निर्माण टोलीले चिया अड्डा, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबली जस्ता स्थानमा कविता वाचन र गायनमार्फत फिल्मको प्रचार गरेको थियो । यद्यपि, यो शैली सीमित दर्शकमाझ मात्र केन्द्रित देखिन्थ्यो ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंश आचार्यको साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ । विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ र अविरल थापा फिल्मका निर्माता हुन् ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

हरिवंशको फरक भूमिकामा अवतरण र भूटानी शरणार्थीको गहिरो कथावाचन रहेकाले ‘भूठान’ले नेपाली सिनेमामा विशेष स्थान दिलाउने विश्वास गरिएको छ ।

यता, सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को प्रचारप्रसार भने लगभग शून्यजस्तै छ । चलचित्रको चर्चा नचल्दा दर्शकमा उत्साह देखिएको छैन । यो सिनेमाको निर्माणटिम प्रचारमा धेरै लगानी गर्नुभन्दा फिल्मको गुणस्तर र ‘वर्ड अफ माउथ’ले दर्शक तान्ने विश्वासत छ ।

सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय रहेको यस चलचित्रमा नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित यो चलचित्रका निर्माता लुईसराज महर्जन र आशिषराज महर्जन हुन् ।

‘भुठान’ र ‘खेल’को कमजोर प्रचारलाई दर्शकले कसरी हेरेका छन्, त्यो भने ‘वर्ड अफ माउथ’मै देखिएला । अब यी दुई सिनेमालाई दर्शकले कत्तिको साथ दिने हुन्, त्यो भने अबका केही दिनमा हलको उपस्थितिले बताउनेछ ।