सुजन चापागाईँको कन्सर्टसहित ‘ऊनको स्वीटर साँझ’ हुँदै

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को निर्माण टिमले प्रचारलाई थप आकर्षक बनाउन ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ सुरु गरेको छ ।

आगामी वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिमले आफ्नो सिनेमाका गीत निर्देशकसमेत रहेका गायक सुजन चापागाईँ सहित चलचित्रका प्रमुख कलाकारहरूलाई लिएर देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएको हो ।

दर्शकमाझ चलचित्रको भावना र रङ्ग प्रकट गर्ने प्रयास गरिएको यो कार्यक्रम पोखरा र धरानमा गरिन् लागेको आयोजकले जनाएका छन् ।

पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । 

कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई तथा निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।

उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकार एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजनले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् ।

कार्यक्रमको विशेष भागस्वरूप स्व. झलकमान गन्धर्वको जन्मजयन्तीको अवसरमा गन्धर्व परिवारको उपस्थितिमा गायक चापागाईँले झलकमानका लोकप्रिय गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने छन् ।

वैशाख १८ गते साँझ धरानको रङ्गशालामा आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।

हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।